PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले प्रवेश गरेकी करिश्माको दाबीः ‘कांग्रेसबाट पनि पटक-पटक फोन आएको थियो’



लक्ष्मी बलायर

एमाले प्रवेश गरेकी करिश्माको दाबीः ‘कांग्रेसबाट पनि पटक-पटक फोन आएको थियो’

काठमाडौँ: रातो सारी। गलामा मोतीको माला। मेकअपमा चिटिक्क देखिएकी थिइन् अभिनेत्री करिश्मा मानन्धर। दृश्य कुनै फिल्मको हैन। थापाथलीस्थित कार्की ब्यांक्वेटमा करिश्मा नेकपा (एमाले) प्रवेश कार्यक्रमको हो। उनी कमरेड बन्न त्यहाँ पुगेकी थिइन्। सुटिङ नै छाडेर।

करिश्मा कलाकारबाट नेता बनेको पहिलो पटक भने हैन। नयाँ शक्ति पार्टीमा केही समय सक्रिय भएपछि उनी राजनीतिको सिनमा थिइनन्। तर एकाएक उनी 'कमरेड' बन्ने चाहसाथ एमाले प्रवेश गरेकी हुन्।

कलाकारबाट कमरेड बन्नु उनको स्वेच्छा हो। केपी ओलीको पार्टीमा जोडिन् पाउँदा खुसी भएको बताउँछिन् करिश्मा।

कक्षा १२ को परीक्षा हुँदादेखि नै उनी अध्यक्ष ओलीसँगको सम्पर्कमा थिइन्। त्यसपछि उनीहरूबीच भेटघाट भयो। फलस्वरूप उनी मंगलबारदेखि ओलीकै पार्टीमा आबद्ध भएकी छिन्।

'म आफ्नै इच्छाले पार्टीमा प्रवेश गरेकी हुँ। ओलीजीसँग मेरो भेट केहीअघिमात्रै भएको हो। तर म उहाँलाई अगाडिदेखिनै फलो गरिरहेकी थिएँ। एमाले एक सफल पार्टी हो। जसकारण मैले एमाले रोजेँ', उनले भनिन्।

सन् २०२४ मा स्नातक सिद्ध्याएपछि एमाले प्रवेश गर्ने मन थियो करिश्मालाई। तर स्थानीय चुनाव नजिकिँदा उनलाई यही समय उचित लाग्यो। आफूले अहिले पार्टी प्रवेश गर्दा नेताहरूलाई हौसला हुने उनको भनाई छ।

राजनीतिमा प्रवेश गरे पनि कलाकारिता नै पहिलो प्राथमिकतामा पर्छ करिश्माको। आगामी दिनमा राजनीति, कलाकारिता र पढाइलाई सँगसँगै अगाडि बढाउने उनको योजना छ।

भन्छिन्, 'मैले १४ वर्षदेखि नै कलाकारिता सुरु गरे। एमालेमा प्रवेश गरे पनि म तपाईँहरूकै कलाकार करिश्मा हुँ। कलाकारिता र राजनीतिलाई सँगसँगै लान मन छ। चाहना भयो भने सबै कुरा पूरा गर्न सकिन्छ। व्यवस्थापन गर्न सक्नुपर्‍यो।'

राजनीतिमा महिलाहरूको सहभागिता हुनुपर्छ भनेर यसअघि नयाँ शक्तिमा होमिएको उनको तर्क छ। नयाँ शक्तिबाबाट अलग्गिए पनि धेरै कुरा सिकेको र आफू सचेत बनेको उनले बताइन्।

नयाँ शक्ति छोडेपछि राजनीतिमा आउन उचित समयको पर्खाइमा थिइन् उनी। जुन उचित समय मंगलबार जुरेको छ। एमालेमा प्रवेश गरेपछि सही पार्टीमा आएको महसुस भइरहेको उनले बताइन्।

कलाकारहरूले पनि राजनीतिमा सहभागिता जनाउनुपर्ने उनको तर्क छ।

'हरेक क्षेत्रलाई राजनीतिले छोएको हुन्छ। हरेक क्षेत्रका मानिस राजनीतिप्रति सचेत र सहभागी हुनु खोज्नु राम्रो कुरा हो। कलाकारिता क्षेत्रमा भने अली फरक हुन्छ। किनभने कलाकार पहिले नै पब्लिकको मान्छे हुन्छ। जसकारण किन भन्ने प्रश्न उठ्छ। तर नागरिकका हिसाबले कलाकारले पनि राजनीतिमा सहभागिता जनाउने उत्तिकै अधिकार छ', करिश्मा भन्छिन्।

साथै आफूलाई पार्टीको हिसाबले भन्दा व्यक्तिको हिसाबले हेर्न उनले जनतालाई आग्रह गरिन्।

'राजनीतिभन्दा चलचित्र भनेको बेग्लै पाटो हो। अहिले हामी गणतान्त्रिक मुलुकमा छौँ। त्यसैले सङ्कुचित सोच्नु हुँदैन। जुन पार्टीको जो मानिस भए पनि हरेक पार्टीले मुलुकको लागि काम गर्छ। अर्को पार्टीमा छौँ भन्दैमा गाली गर्ने जुन संस्कार छ समाजमा त्यो तरिकाले नसोचौँ। म तपाईँहरूको त्यही कलाकार करिश्मा हुँ।'

एमाले प्रवेश गर्नुअघि आफूलाई बारम्बार कांग्रेसबाट फोन आएको समेत उनले दाबी गरिन्।

उनले भनिन्, 'मलाई  कांग्रेसबाट बारम्बार फोन आएको थियो। देउवाजीले भेट्न खोज्नुभएको थियो। मैले मतलब गरिनँ। किनकी म आफ्नो निर्णयपत्ति पक्का थिएँ। भित्रैदेखि एमाले प्रवेश गर्छु भन्नेमा ढुक्क थिए।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell