PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

मत तान्न चुनावी अभियान : मकवानपुरमा कुन दलको कस्तो छ तयारी?



निशा गुरुङ

मत तान्न चुनावी अभियान : मकवानपुरमा कुन दलको कस्तो छ तयारी?

हेटौंडा : स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलका नेताकार्यकर्ता त्यसको तयारीमा जुटेका छन्। मकवानपुरका राजनीतिक दलका नेता कार्यकर्तालाई यतिखेर पार्टी फेर्नेदेखि नेताको दैलो धाउन भ्याइनभ्याई छ। यसैगरी आफ्नो पार्टीलाई नम्बर एक बनाउने उद्देश्यसहित प्रमुख राजनीतिक दल नारासहित कार्यकर्ताको घरमा पुग्न थालेका छन्।

‘घरघरमा एमाले, मनमनमा एमाले’ अभियान

नेकपा एमाले मकवानपुर ‘घरघरमा एमाले, मनमनमा एमाले’ नारा लिएर गाउँपालिका र वडा तहसम्म जुटेको एमाले मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए।

जिल्ला कमिटी प्रशिक्षण तथा कार्यकर्ता कार्यक्रम आयोजना गरी चुनावको तयारीमा जुटिसकेको उनले बताए। अध्यक्ष श्रेष्ठले अहिले जनतासँग भेटघाट कार्यक्रमलाई तिव्रता दिनुका साथै जनतासमक्ष पार्टीको धारणा राख्ने कार्य गरिरहेको उल्लेख गरे। स्थानीय तहमा विगतमा जितेका ठाउँमा घोषणा गरेका के काम पुरा गर्न सक्यौं र के काम पुरा गर्न बाँकी रहेको सबै समिक्षा गरेर जनतासामु पुग्ने काम भइरहेको उनले जनाए।

वडा वडामा कांग्रेसका प्रतिनिधि

नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ‘घर घर जाऔं, काँग्रेस जिताऔं’ अभियान चलाएको छ।

सोही क्रममा कांग्रेस मकवानपुरले केन्द्रीय र प्रदेश नेतृत्वले पठाएको प्रतिनिधिहरुसँगको समन्वयमा अभियानलाई तिव्रता दिँदै जिल्लाका वडा वडामा पुग्ने योजनासहित गाउँ प्रवेश गरेको जिल्ला सभापति बुद्ध लामाले जनाए।

१ महिने अभियान अन्तर्गत वडा–वडामा खटिने प्रतिनिधिले जनताको घर पुगेर कांग्रेसले गरेका काम र एजेण्डा तथा एमसीसीका विषयमा प्रष्ट पार्ने काम भइरहेको लामा बताउँछन्।

प्रतिनिधिहरुले वडामा गएर जनताको कांग्रेसप्रतिको धारणा र पार्टीको अवस्था बुझेर एक हप्ताभित्र प्रतिवेदन तयारी पारी केन्द्रमा बुझाउनु पर्नेछ। जनताको घर–घरमा पुगेर वडा प्रतिनिधिले जनतालाई मताधिकार प्रयोग गर्न प्रेरित गर्ने, कांग्रेसलाई नै किन मत हाल्ने भनेर बुझाउने, कांग्रेसले विगतमा गरेको काम, राजनीतिक परिवर्तनको बारेमा बुझाउने, कांग्रेसको नेतृत्वमा भएको विकासबारे जानकारी गराउने लगायतका काम गर्ने बताइएको छ।

माओवादी केन्द्रको प्रशिक्षण

नेकपा माओवादी केन्द्र मकवापुरले स्थानीय तह निर्वाचनका लागि टोल, वडा, पालिकामा प्रशिक्षण तथा भेला गरिरहेको जिल्ला सचिव भिम पाख्रिनले जानकारी दिए। वडा सभापति, इन्चार्जको नेतृत्वमा जनताको घरदैलो कार्यक्रम केही दिनमा उम्मेद्वारी घोषणा गर्न स्थानीय कमिटीमा रोष्टर तयार पार्नसमेत निर्देशन दिइसकेको उनले जानकारी दिए।

माओवादीले ५२ सालदेखि ६२/६३ सालको आन्दोलनबाट ल्याएको उपलब्धिका बारेमा जानकारी गराई मत माग्ने तयारी रहेको पाख्रिन बताउँछन्। गाउँघरमा सिंहदरबार नारालाई अझै स्थापित गर्ने र जनताको रक्षाको निम्ति माओवादीले खेलेको भूमिकाबारे जानकारी गराउनेसमेत उनको भनाई छ।

समाजवादीको निर्वाचन परिचालन कमिटी

नेकपा (एकीकृत समाजवादी) मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

पार्टीको सचिवालय बैठकले एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो। कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका कार्यसमितिसहित १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको जिल्ला अध्यक्ष पोखरेलले बताए।  सचिवालय बैठकले मकवानपुरका १० स्थानीय तहमा पार्टी अभियान सञ्चालनका लागि सहजकर्ताहरु पनि तोकेको छ।

निर्वाचन केन्द्रित भेला गर्ने फागुन १५ गते १० वटै पालिकाको बैठक राखेर १ सय २  वटै वडामा जाने कार्यक्रम भइरहेको अध्यक्ष पोखरेल बताउँछन्। उनले गठबन्धनलाई कायम राख्न वार्ता अभियानसमेत भइरहेको जनाए।

राप्रपा मकवापुरको गाउँगाउँ भेला

स्थानीय तहको निर्वाचनका लागि राप्रपा मकवानपुरले गाउँ गाउँमा भेला गरिरहेको राप्रपा मकवापुरका अध्यक्ष गुरुप्रसाद सापकोटा बताउँछन्। अहिले जनताले नयाँ खोजेको अवस्थामा देशमा भइरहेको भ्रष्टाचार, मँहगीजस्ता जनताले भोग्नुपरेका पीरमर्का बुझेर जनतामाझ मत माग्ने तयारी भइरहेको उनले जानकारी दिए।

उनले वडा कमिटिहरुलाई नै जिम्मेवारी दिएर उम्मेद्वरी छनौट सम्बन्धि कामहरु भइरहेको बताए। अध्यक्ष सापकोटाले अहिले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजासमेत आउने दाबी गरे।

२०७४ को स्थानीय तह निर्वाचनमा मकवानपुरमा नेकपा एमाले पहिलो स्थानमा थियो भने कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो स्थानमा रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell