PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

सुर्खेतको चक्रपथ : शुरु १६ वर्ष अघिबाट तर विवादै विवादले काम अझै अपुरा



पी बी खड्का

सुर्खेतको चक्रपथ : शुरु १६ वर्ष अघिबाट तर विवादै विवादले काम अझै अपुरा

सुर्खेत : प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा निर्माणाधिन चक्रपथ (रिङरोड)को काम झण्डै डेढ दशकसम्म पनि पुरा हुन सकेको छैन। २०६२ सालबाट निर्माण कार्य सुरु गरिएको चक्रपथको काम अझै पुरा हुन नसकेको हो।

वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले १६ वर्षअघि चक्रपथको काम थालिएको थियो। वीरेन्द्रनगरको सुब्बाकुनादेखि घुस्रा हुदैँ दक्षिण भागबाट बाङ्गेसिमल जोड्ने चक्रपथ करिव २९ किलोमिटर लामो छ।

जसमध्ये हालसम्म २२ किलोमिटर मात्रै काम भएको छ। निर्माणाधिन चक्रपथको बाँकी काममा ढिलाई भएको हो। चक्रपथ अन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुदाँ बेलाबेला विवाद हुदैँ आएको छ।

चक्रपथको सुरुवात विन्दु सुब्बाकुनास्थित व्यक्तिको घरजग्गा भएकै कारण सो ठाउँमा काम हुन सकेको छैन भने, चक्रपथ अन्तर्गत नगरको वडा नं. १, २, ८ र १२ मा वन क्षेत्र र व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिन सकेको छैन।

चक्रपथ अन्तर्गत घरजग्गा पर्ने भएपछि स्थानीयले अवरोध गर्दै आएका छन् भने उचित क्षतिपूर्तिको मागसमेत गरिरहेका छन्। ‘जनताका लागि विकास आएको भने, विकासका नाममा उठिवास लगाउनुभएन,’ स्थानीय अमृता कार्की भन्छिन्, ‘हामी जग्गा दिन्नौँ भन्दैनौँ, सरकारले उचित क्षतिपूर्ति दिनुपर्छ।’

चक्रपथ अन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारणले अझै ४० प्रतिशत काम हुन बाँकी छ। निर्माण भएको सडकमध्ये करिब दुई किलोमिटर पनि कालोपत्रे भएको छैन।

उक्त निर्माणाधिन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयका अनुसार ६० प्रतिशत काम सकिएको जनाएको छ। विवाद नभएको क्षेत्रमा धमाधम काम भएपनि जग्गा विवाद रहेको ठाउँमा काम बाँकी रहेको कार्यालयका इन्जिनियर सुरेश बस्यालले बताए।

‘विवाद नभएको ठाउँहरुमा त काम सकिसकेको छ,’ उनले भने, ‘जहाँ जग्गा र वनको विवाद छ, ति ठाउँहरुमा काम हुन नसकेको हो।’ निर्माण कम्पनी र कार्यालयले समय सिमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाई भएको उनको भनाई छ।

चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकोमा पटकपटक म्याद थप भइरहेको छ। पछिल्लो पटक म्याद थपअनुसार २०७८ चैत मसान्तभित्र निर्माण कार्य पुरा गर्नुपर्ने सम्झौता छ। तर, अवरोध कायमै रहेको हुँदा चैत मसान्तमा सकिने छाँट छैन।

संघीय सरकारले निर्माण कार्य थालेको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत छ। १३ करोड बजेटमा निर्माण सम्झौता भई काम सुरु गरिएको चक्रपथ निर्माण सम्झौतामा १५ मिटर चौडाईको सडक बनाउने भनिएको छ। तर, जग्गा अभाव र उपलब्धता नभएकै कारण ११ मिटर मात्रै सडकको काम भइरहेको छ। पर्याप्त जग्गा उपलब्ध नहुदाँ सडकको चौडाइ घटेको सडक डिभिजन कार्यालयले जनाएको छ।

यता, वीरेन्द्रनगर नगरपालिकाले अब छिटै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ। नगरप्रमुख देवकुमार सुवेदीका अनुसार सरोकारवालावीच विवाद समाधानका लागि छलफल भइरहेको छ। 

‘समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायहरुवीच विभिन्न चरणमा छलफल भइरहेको छ,’ उनले भने, ‘प्रदेश र संघीय सरकारले पनि चक्रपथलाई प्राथमिकतामा राखेको हुदाँ अब छिट्टै काम अघि बढ्छ।’ प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell