
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले जसरी पनि बहुमत ल्याउनुपर्ने बताएका छन्।
बबरमहलस्थित कार्की बैंक्वटमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनमा एमालेले बहुमत नल्याए अरु निर्वाचनमा बहुमत ल्याए पनि जनताको सेवा गर्न नसकिने बताए।
'केन्द्रमा बहुमतको सरकार बने पनि जनताको घरदैलोमा पुग्न त स्थानीय ठाउँमा आम रुपमा बहुमतका साथ विजयी हासिल गर्नुपर्छ,' ओलीले भने।
उनले स्थानीय तहको चुनाव अघि बुधवार सुरु भएको बैठक अन्तिम भएको जानकारी दिएका थिए। चुनावमा जुट्न ओलीले कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। एमलेको सोमवार बसेको पोलिटब्यरो बैठकले स्थानीय तह निर्वाचनको उम्मेद्वारको मापदण्ड बनाएको थियो।
चुनावबारे थप रणनीति बनाउन एमालेको केन्द्रीय कमिटीको बैठक बसेको हो। बैठक बिहीवार पनि बस्ने छ। ओलीले नेता कार्यकर्तालाई पार्टी सम्बन्धित दस्तावेजहरु अध्ययन गर्न पनि निर्देशन दिएका छन्। ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्दैछन्।