काठमाडौँ : मंगलवार बिहान साढे ७ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएका ५३ वर्षीय दासाङ शेर्पा काठमाडौंको जोरपाटी चोकबाट नारायणटारसम्म जाने गाडीमा चढे। करिब १ किलोमिटरको दुरीको यात्रा उनका लागि तनावको कारण बन्न पुग्यो।
उनको साथमा थियो कालो रङ्गको झोला। झोलाभित्र साढे ३ लाख रुपैयाँ। जब उनी गाडीबाट ओर्लिए आफ्नो झोला निकाल्नै बिर्सिए। छोरीले दुबईबाट उनलाई पैसा पठाएकी थिइन्।
गाडीमै झोला छुटेको थाहा पाउँदा उनको होसहवास नै उड्यो। गाडीको झोलाभित्र रहेको साढे ३ लाख रुपैयाँले उनलाई सताउनु स्वभाविक थियो। त्यसपछि के गर्ने ? उनले प्रहरीलाई खबर गरे।
'अरू सामान बोक्दाखेरी पैसा सिटमा छुटेछ। त्यहाँबाट मैले तुरुन्त प्रहरीलाई खबर गरे,' शेर्पाले भने।
महानगरीय प्रहरी वृत्तबाट प्रहरी खटाइयो। उनलाई आफू चढेको गाडी नम्बर समेत याद थिएन। जोरपाटी नारायणटार हुँदै दिनमा सयौँ गाडी चल्छन्। अब उनले चढेको गाडी कुन हो त?
प्रहरीले सो रूटमा चल्ने सबै गाडीलाई चेक गर्यो। महानगरीय प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरी टोलीले रत्नपार्कबाट जहरसिंह पौवासम्म चल्ने बा ४ ख ६४३३ नम्बरको यात्रुबाहक बसबाट उल्लेखित नगद सहितको कालो झोला फेला पार्यो।
'दिनभर प्रहरीले झोला खोज्न मेहनत गर्यो। अन्ततः हामी सफल भयौँ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले भने।
प्रहरीले रकम शेर्पालाई बुझाएपछि उनी दंग परेर प्रहरीलाई धन्यवाद दिएका छन्।