PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ओलीको भालेवादमा अल्झिएको नेकपा एमाले र भुमरीमा परेको कम्युनिष्ट आन्दोलन



पहिलोपोस्ट

ओलीको भालेवादमा अल्झिएको नेकपा एमाले र भुमरीमा परेको कम्युनिष्ट आन्दोलन

  • सुभाषचन्द्र देवकोटा -

राजनीतिक दलहरु विचारको अधारमा बन्छन् र विचार कै आधारमा भत्किन्छन्। विचार नै राजनीतिक दलहरुको मेरुदण्ड हो जसले राजनीतिक दलहरुलाई जीवन्त र गतिशील बनाउँछ। तर विडम्बना, आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) विचारको त्यो जीवन्त र गतिशील मेरुदण्डलाई चुँडालेर राजनीतिको अध्याँरो यात्रामा निस्किएको छ। यस्तो यात्राले सर्वसाधारण बिच केही समयसम्म भ्रम सृजना गरे पनि त्यसको गन्तव्य अन्ततः विघटन वा विसर्जन नै हो। विचारविहीन राजनीतिक यात्राको टुङ्गो इतिहासले यसैगरी लगाउँदै आएको पनि छ।

आज एमालेले आफै उभिएको जगमाथि गैँची चलाएको छ। हिजो आफैले लेखेको इतिहास र गरेको योगदानमाथि आगो झोसेको छ। यसरी आफै उभिएको जग भत्काएर, इतिहासको विरासत र योगदानमाथि आगो झोसेर नेकपा एमाले कसरी जीवन्त र गतिशील बन्नसक्छ? देशको राजनीतिक रथ कसरी हाँक्न सक्छ? कसरी देश र जनताको पक्षमा ज्यूँदो भएर बोल्न उभिन सक्छ?

एमाले नेतृत्वले आफ्नो विवेकको आँखामा पट्टी बाँधेको छ। नेतृत्वको कुण्ठा र तुष्टिकरणका लागि वैचारिक मान्यताहरूमा करौँती चलाएको छ। राजनीतिका सबै नियम र मर्यादा तोड्नुलाई आफ्नो पौरख ठानेको छ। सत्ता सपनामा निर्लिप्त नेतृत्वको लागि कमल थापा, राजेन्द्र महतो र सीके राउतहरुसँगको मित्रता राजनीति उन्नयनको बाटो बनेको छ। एमालेको यस्तो अवसरवादी र छद्म प्रवृत्तिले समग्र कम्युनिष्ट आन्दोलनलाई मात्र कमजोर बनाएको छैन, यसले देशको लोकतान्त्रीकरणमा समेत असर पारेको छ।

विडम्बना, छिन्ताङ् र पिस्कोरको रक्तिम इतिहासको विरासतमाथि बञ्चरो चलाएर आज एमाले कुनै जमानाकी दरबारी गायिक कोमल वली र मेडिकल व्यापारी दुर्गा प्रसाईहरुको हात समातेर राजनीतिको वैतरणी तर्दैछ। रामनाथ, बिरेन राजवंशी र नारायण श्रेष्ठहरु जस्ता शहीदहरुको सपनाहरु कुल्चिएर अवसरवादी र अहँकारको रथमा सवार भएको छ। यसरी कुनै बेला जनताको आशा र भरोसाहरुको केन्द्र बनेको एमाले हेर्दाहेर्दै अवसरवादी र नव सम्भ्रान्तहरुको मनोवाद गर्ने क्लबमा परिणत भएको छ। आफ्नै कारण मरिच झै चाउरिँदै गएको छ एमाले।

अब एमालेमा विचार, विधिका बहसहरू चल्दैनन्। किन भने विचार, विधिका बहस चलाउन तम्सिने भीम रावल र घनश्याम भुसालहरु सीमान्तकृत पारिएका छन्। अष्टलक्ष्मी, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र योगेश भट्टराईहरुले महेश बस्नेत र गोकुल बास्कोटासामु आत्मसमर्पण गरिसकेका छन्। केपी ओलीको बुख्याचा बोक्न र बुख्याचासँगै उभिएर सेल्फी खिच्न हिच्किचाउने कार्यकर्ताहरु कोपभाजनको शिकार भएर किनारामा धकेलिएका छन्। यसरी राजनीतिक बहसको मुहान नै थुनेर एमाले पार्टीलार्इ अब केपी ओलीको आत्म चरित्र सुन्ने र सुनाउनेहरूको डबली बनाइएको छ।

त्यसैले, केपी ओलीको आत्मचरित्र नै राजनीतिको अनुष्ठान ठान्नेहरुको लागि जनताको बहुदलीय जनवाद र यसले स्थापित गरेका विधि, मान्यता र आचरणहरुको अनुसरण गर्नुपर्ने कुनै दरकार अब छैन। सबै मूल्य र मान्यतामाथि कैंची चलाएर केवल केपी ओलीको भक्तिगानको हरेराम यात्रामा निस्केको एमालेको राजनीति भविष्य भिरमा झुण्डिएको फर्सीजस्तै भएको छ।

गरिबी, अभाव, सबैखाले विभेद र उत्पीडनहरुबाट मुक्ति विगतमा जनताहरुलाई बाँडेको सपना थियो। तर बिगतको केपी ओली सरकारले जनतालाई बाँडेको यस्ता सपना र प्रतिवद्धताहरु पूरा गर्ने जमर्को कहिल्यै गरेन। समृद्ध नेपालको कुरा त धेरै गरे पनि जनताको हैसियत सुधार्ने कार्यहरुले प्राथमिकता नै पाएनन्। रोजगारी, शिक्षा र स्वास्थ्य लगायत सार्वजनिक सेवाका विषयहरूमा जनपक्षीय कामहरू केही गरिएनन्। यथार्थमा, बरू जनताको संवेदनशीलतामा खेलेर आफ्नो र आफ्ना मान्छेहरुको स्वार्थ पूरा गर्ने कामहरू नै प्राथमिकताका विषय बने।

सरकारको नेतृत्व गर्दा भ्रष्टाचारमा शून्य सहनशीलता कुरा गरे पनि वाइड बडी, प्रिन्टिङ् प्रेस खरिद काण्ड, ओम्नी र औषधि खरिद काण्ड, यती जग्गा प्रकरण, चियाबारी जमीन काण्ड, रासायनिक मल खरिद काण्ड, ललिता निवास जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका काण्डको विरोधमा केपी ओलीले बोलेको कतै सुनिएन। बरु, यस्ता काण्डमा संलग्नहरुलाई राजनीतिक संरक्षण दिने काम भने प्रशस्तै भयो। यथार्थमा भन्नुपर्दा केपी ओलीको तीनवर्षे सत्ताकाल सर्वसाधारण जनताका लागि 'कौवालाई बेल पाक्यो हर्ष न विस्मात' भने जस्तो भए पनि दलाल पूँजीपति तथा कमिसनखोरहरुको लागि भने स्वर्णयुग नै सावित भयो।

देशको राष्ट्रियताको सवालमा पनि केपी ओलीका लागि सत्ता पुग्ने भर्‍याङमात्र थियो। जनताको संवेदनशीलता माथि खेल्न, सार्वजनिक खपतका लागि राष्ट्रवादको खरो कुरा गरे पनि भारतीयसँगको साँठगाँठ गरेर आफ्नो राजनीति दुनो सोझ्याउने मामिलामा केपी ओली समकालीन राजनीतिमा सबैभन्दा उम्दा साबित भए। भारतीय गुप्तचर संस्था 'र' का प्रमुखलाई मध्यरातमा एक्लै बालुवाटारमा भेटेपछि केपी ओलीको प्रखर राष्ट्रवादको चुरो कुरो छरपस्ट भयो। केवल सत्ताको लागि भारतीयसामु लम्पसार पर्ने ओलीको राष्ट्रवादी विषेशता सबैसामु उदाङ्गो बन्यो।

कुनैबेला देशको अग्रगामी परिवर्तनमा केन्द्रीय भूमिका खेलेको नेकपा एमाले, केपी ओलीको नेतृत्वसम्म आइपुग्दा पश्चगामी दिशामा फालहानेको छ। नेपालको संविधानका अग्रगामी विशेषताहरु संघीयता, धर्म निरपेक्षता, समावेशी र समानुपातिक जस्ता आधारभूत ढाँचाहरुको छेडछाड गर्नु अब एमालेहरूको दैनिकी नै भएको छ। एक स्वयम् केपी वलीले पटकपटक सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्ति तथा व्यवहारले समेत यसको पुष्टि गर्छ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको पछिल्लो क्रममा खड्गप्रसाद ओली डा. केशरजङ्ग रायमाझीको प्रतिनिधिपात्रका रुपमा देखा परेका छन्। कुनै बेला नेपाल कम्युनिष्ट पार्टीको महासचिव बनेका रायमाझीले तत्कालीन दरबारको इसारामा कम्युनिष्ट आन्दोलनलाई तहसनहस पारेका थिए। आज पुनः केपी ओलीले रायमाझीको त्यही बाटो समाएर स्वदेशी, विदेशी प्रतिगामी ताकतहरुको इसारामा देशमा भएको अग्रगामी राजनीति परिवर्तन विरुद्ध रायमाझीकै पथगामी भएर उभिएका छन्। जसले गर्दा नेपालको कम्युनिष्ट आन्दोलन दिगभ्रमित हुने अवस्थामा पुगेको छ।

समग्रमा भन्नु पर्दा आज देश संकटपूर्ण अवस्थामा छ। देशको स्वाधीनता र लोकतन्त्रविरुद्ध स्वदेशी तथा विदेशी शक्तिहरु एकतावद्ध भएर लागेका छन्। यस्तो विषम् परिस्थिमा केपी ओलीको नेतृत्वमा नेकपा एमाले अँगालेको राजनीतिले देशको परिस्थितिलाई झन् जटिल बनाएको छ। जुन देशको स्वाधीनता रक्षासँगै लोकतन्त्रका लागि समेत घातक छ।

तसर्थ, कम्युनिष्ट आन्दोनभित्र देखिएको यस्तो घातक ऐंजेरु प्रवृत्ति र यसले सृजना गरेको भ्रमविरुद्ध सशक्त अभियान संचालन गर्नु आजको आबश्यकता हो। आन्दोलन र संगठनमा भित्रिएका सबैखाले अपचलनको निर्मम समीक्षा गरेर वैचारिक र सांगठनिक पुनर्संगठन नगरी अब कसैले पनि कम्युनिष्ट अन्दोलननको गरिमा बचाउनसक्ने छैन। कम्युनिष्ट आन्दोलन र पार्टीभित्र हुर्किएका भालेवादको अन्त्य गर्नसके मात्र लोकतन्त्रको रक्षा र कम्युनिष्ट आन्दोलनको गरिमालाई जोगाउन सकिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell