युक्रेनविरुद्धको युद्धमा बेलारुस पनि ‘चाँडै’ रसियासँग सामेल हुने सक्ने अमेरिका र नेटोले जनाएको छ। अमेरिकी र नेटोका अधिकारीहरूले सीएनएनलाई बताएअनुसार बेलारुसले त्यसको लागि कदम चालिसकेको छ।
बेलारुस युद्धमा प्रवेश गर्ने ‘सम्भावना’ बढ्दो रहेको एक नेटो सैन्य अधिकारीले सोमवार बताएका छन्। ‘रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन चाहिन्छ। कुनै पनि कुराले उनलाई मद्दत गर्नेछ,’ ति अधिकारीले भने।
बेलारूसी लडाकु एकाइहरू अबको केही दिनमा युक्रेनमा जान तयार रहेको र हजारौँ सेनाहरु तयारी अवस्थामा रहेको बेलारूसी विपक्षी स्रोतले बताएको छ। सो स्रोतको दृष्टिकोणमा यो युद्धमा सामेल हुने अर्को देशको प्रभावलाई ध्यानमा राख्दै भूराजनीतिक रूपमा भन्दा यसले सैन्य रूपमा कम प्रभाव पार्नेछ।
नेटोका एक वरिष्ठ गुप्तचर अधिकारीले बेलारूसी सरकारले ‘युक्रेनविरुद्ध आक्रमणको लागि औचित्य प्रमाणित गर्न वातावरण तयार गरिरहेको छ’ भनेर मूल्याङ्कन गरिएको बताएका छन्।
रसियाले बेलारुसको भूभागबाट युक्रेनमा आफ्नो आक्रमण सुरु गरेको थियो। गत महिना युक्रेनमा क्रेमलिनको आक्रमण अघि बेलारुसमा हजारौँ रसियाली सेना जम्मा भएका थिए, जुन दुई देशहरूले प्रशिक्षण अभ्यास भएको दाबी गरेका थिए। युद्धको प्रतिक्रियामा अमेरिकी र युरोपेली प्रतिबन्धहरू बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलगायत रसियाली र बेलारूसी अधिकारीहरूप्रति लक्षित छन्।
बेलारुसले गत महिना आफ्नो संविधान परिवर्तन गर्दै देशमा रसियाली सेना र आणविक हतियारहरू स्थायी रूपमा होस्ट गर्न अनुमति दिएको थियो। यद्यपि अमेरिकी अधिकारीहरूले सीएनएनलाई बताएअनुसार रसियाले आणविक हतियारहरू बेलारुसमा सार्ने वा यसको तयारी गरिरहेको कुनै प्रमाण देखिएको छैन।
यता, अन्य स्रोतहरूले भने बेलारुसले हाल युक्रेनको युद्धमा भाग लिने भन्ने कुनै संकेतहरू नदेखिएको बताएका छन्। यस्तै, एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले पनि पेन्टागनले ‘बेलारुसीहरू युक्रेनमा जानको लागि तयारी गरिरहेको कुनै संकेत नदेखेको अथवा त्यसोको लागि कुनै सम्झौता नगरेको’ बताएका छन्।