PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

झन् झन् ऋणमा डुब्दै छ श्रीलंका, आर्थिक संकटसँगै बिजुली सकंटले बढाइरहेको छ पीडा



पहिलोपोस्ट

झन् झन् ऋणमा डुब्दै छ श्रीलंका, आर्थिक संकटसँगै बिजुली सकंटले बढाइरहेको छ पीडा
Photo : Ishara S Kodikara / AFP / Getty Images

श्रीलंकामा मंगलवारबाट सेना परिचालन गरिएको छ। आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका पेट्रोल पम्पमा सेना तैनाथ गरिएको हो। पेट्रोल र डिजेलको अभाव बढ्दै जाँदा पम्पहरुमा हजारौंको लाइन लागे पछि हिंसात्मक घटना हुनबाट रोक्न सेना परिचालन गरिएको हो।

आर्थिक संकटका कारण चर्को मूल्यवृद्धि भएसँगै मानिसहरु इन्धनको जोहोमा अहिले लागेका छन्। यसैबिच केही मानिसले ठूलो क्यानमा पेट्रोल भरेर बेच्ने गरेको पाइएको छ। पेट्रोल सबैको पहुँचमा पुगोस् भन्दै सरकारले सेना परिचालन गर्नुपरेको बताएको छ। पेट्रोल र डिजेलको लागि लाइनमा बस्दा बस्दै हालसम्म चारजनाको मृत्यु भइसकेको छ। एकजनाको मृत्यु लाइनमै भएको थियो भने तीनजनाको मृत्यु लाइनमै विवाद हुँदा चक्कु आक्रमणबाट भएको थियो।

यस्तै, ग्यासका लागि पनि मानिसहरु घण्टौं लाइनमा बसिरहेका छन्।

श्रीलंकामा विदेशी मुद्राको भण्डारण लगभग सकिन लागेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। जसकारण पेट्रोल र डिजेलको आयात हुन सकेको छैन। यस्तै, खाद्यान्न, तरकारी र औषधिको पनि चरम अभाव भएको छ। सामानहरुको चर्को मूल्यवृद्धि हुँदा एक परिवारको खर्च चार गुणा बढेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

विदेशी मुद्राको अभावका कारण श्रीलंकामा विद्यालय तहको वार्षिक परीक्षा समेत रद्द गरिएको थियो। कागज र मसी किन्न पैसा नहुँदा ४० लाख भन्दा बढी विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका छन्।

अहिले खाद्यान्न र औषधि किन्नका लागि श्रीलंकाले ऋण लिने तयारी गरिरहेको छ। भारतले श्रीलंकालाई १ अर्ब अमेरिकी डलर ऋण दिने वचन दिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। चीनसँग पनि ऋण माग गरेको छ। श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि ऋण लिने तयारी गरिरहेको छ।  

आर्थिक संकट सामना गरिरहेको श्रीलंका अहिले बिजुली संकटसँग पनि गुज्रिरहेको छ। मार्चको सुरुवातमा श्रीलंकामा देशभर दैनिक साढे तीन घण्टा लोडसेडिङ हुने घोषणा गरिएको थियो। जसकारण जनजीवन थप प्रभावित भएको छ। उद्योगमा पनि यसको असर परेको छ।

श्रीलंकाको केन्द्रीय बैंकका अनुसार फेब्रुअरीमा देशको विदेशी मुद्रा भण्डारण २.३६ अबर डलर पुगेको थियो। जनवरीमा श्रीलंकासँग फेब्रुअरीभन्दा २४.८ प्रतिशत बढी विदेशी मुद्रा भण्डारण थियो।

रसिया र युक्रेनबिचको युद्धका कारण श्रीलंकाको अवस्था बिग्रिएको अनुमान समेत गरिएको छ। श्रीलंकाबाट रसियामा सबैभन्दा बढी चिया निर्यात हुन्थ्यो। श्रीलंकामा रसिया र युक्रेनबाट ठूलो संख्यामा पर्यटक पनि आउथे। श्रीलंकामा पर्यटन व्यवसाय धराशायी बन्दा र चिया निर्यात नहुँदा अहिलेको संकट थप बढेको हो। श्रीलंकाको १० प्रतिशत जिडिपि पर्यटन उद्योगमा निर्भर रहेको छ। कोरोना भाइरस महामारीको समयमा श्रीलंकामा पर्यटनको आवागमन ठप्प बनेको थियो। जसकारण कयौं व्यवसायहरु बन्द भएका थिए। त्यसमाथि हाल युद्धको असरसँगै विदेशी मुद्राको अभाव भए पछि क्यानडा लगायत कयौं देशले श्रीलंकामा लगानी गर्न समेत बन्द गरिसकेको छ।

सन् २०१९ मा सरकारले नागरिकको खर्चको सीमा बढाउन करको दायरा घटाएको थियो। जसकारण सरकारलाई राजस्वमा घाटा भएको थियो। यसकारण पनि अहिलेको अवस्था सिर्जना भएको हो। यस्तै, कृषिमा रसायनिक मल प्रयोग नगर्न दिइएको आदेशले खेती घटेको छ। जसकारण श्रीलंकामा खाद्यान्न उत्पादन घटेको छ।

हाल श्रीलंकाली मुद्राको दर पनि घटिरहेको छ। श्रीलंकामाथि चीनको ५ अर्ब डलर ऋण रहेको छ। भारत र जापानले पनि श्रीलंकालाई धेरै ठूलो ऋण दिएका छन्। सन् २०२२ सम्म श्रीलंकाले विभिन्न देशलाई ७ अर्ब ऋण फिर्ता गर्नुपर्नेछ। अहिले श्रीलंकाले सामान आयातका लागि महंगोमा डलर खरिद गर्नुपरिरहेको छ। जसकारण श्रीलंका थप ऋणमा डुब्दै गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell