
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीका कारण नेपालसहित विश्वका हिमाली देशहरुमा ठूलो आर्थिक समस्या पारेको बताएका छन्। बुधवार काठमाडौंको चन्द्रागिरीमा दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा देउवाले महामारीबाट उत्पन्न समस्याबारे बताएका हुन्।
उनले अन्तर्राष्ट्रियस्तरबाट सहयोग भएमात्र नेपाल लगायतका हिमाली देशहरुको अर्थतन्त्रलाई बलियो बनाउन सकिने बताए। पर्वतीय स्रोतहरुको संरक्षण गर्न अत्यावश्यक रहेको भन्दै उनले यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्नका निम्ति विभिन्न कार्यक्रमहरु संचालन गर्न लागेको समेत बताए।
‘दिगो पर्वतीय विकासको एजेन्डा नेपालकालागि सधैँ प्राथमिकताको विषय छ। हामीले यसको पक्षमा बेला–बेलामा आवाज पनि उठाएका छौँ। हामीले यही पर्वतीय अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा मुस्ताङमा ‘माउण्टेन एड्भोकेसी समिट’गर्न लागेका छौँ,’ देउवाले भने।
देउवाले विश्वमा मानव समुदायको भविष्य सुरक्षित गर्नका लागि विश्वव्यापी तापमान वृद्धि रोक्न आवश्यक रहेकोमा जोड दिएका छन्। त्यसको लागि तत्काल कदम चाल्न आवश्यक रहेको उनले बताएका छन्।
‘अध्ययनबाट पहाडी क्षेत्रहरूमा विश्वव्यापी रूपमा तापमान बढेको छ पाइएको छ भने औसत भन्दा धेरै छिटो न्यानो हुँदै आएको छ। हिउँ पग्लिनु, ग्लेसियर पछाडि हट्नु, खडेरी बढ्नु, अनिश्चित वर्ष, बाढी पहिरो आदिले समेत सावधानीको संकेत गरिरहेका छन्,’ देउवाले भने।
उनले पर्वतीय मुद्दाहरुलाई समाधान गर्न पहाडी देशहरुबिच छलफल हुन आवश्यक रहेमा जोड दिए। वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको दुई दिने सम्मेलनमा विभिन्न १३ मुलुकका दुई सय जनाको सहभागिता छ।