.jpg)
काठमाडौं : जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा लगाएको कर्फ्यू बिहीवार बिहानदेखि हटाउने निर्णय गरेको छ। आज सूचना जारी गर्दै प्रशासनले बिहीवार बिहान ६ बजेबाट कर्फ्यू हटेको जनाएको हो।
प्रशासनका अनुसार लेटाङ नगरपालिका वडा नम्बर ५ का सम्पूर्ण क्षेत्र, दक्षिणमा लेटाङ नगरपालिका वडा ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, उत्तरमा लेटाङ नगरपालिकाको वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा लगाइएको कर्फ्यू हटाइएको हो।
लेटाङ नगरपालिका ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले चैत ४ गते कक्षा ७ मा अध्ययनरत् एक बालिकालाई यौन दूर्व्यवहार गरेको खबर बाहिरिएको थियो। त्यसपछि चैत ६ गते विद्यार्थी, अभिभावक र स्थानीय शिक्षक पौडेलप्रति आक्रोशित बनेका थिए। त्यही क्रममा आइतवार उनीहरुले विद्यालय घेरा हालेर शिक्षक र जनप्रतिनिधिलाई बन्धक बनाएका थिए। त्यसपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।
आरोपीलाई प्रहरीले बचाउन खोजेको भन्दै भिडले प्रहरीमाथि आक्रमण गरेको थियो। प्रहरीले दोषीमाथि कानूनी कारवाही हुने भनेर बताए पनि अनियन्त्रित भिडले तोडफोड, आगजनी र ढुंगामुढा गरेको प्रशासनले जनाएको छ। त्यसक्रममा भिडबाट भएको आक्रमणबाट विराटनगरस्थित रानी गणमा कार्यरत प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।
त्यसपछि प्रशासनले उक्त प्रकृतिको घटना फेरि दोहोरिन नदिन र जनधनको क्षति हुनबाट रोक्न चैत ६ गते कर्फ्यू आदेश जारी गरेको थियो। त्यही आदेशलाई प्रशासनले निश्चित समय कर्फ्यू खुल्ने गरि बुधवार अर्को आदेश जारी गरेको थियो। आज भने प्रशसानले पूर्ण रुपमा कर्फ्यू हट्ने निर्णय गरेको हो।
प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।
मोरङ प्रशासनको आदेश