काठमाडौँः नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विधान विपरीत कदम चाल्न खोजेको भन्दै डा शेखर कोइराला पक्षले खबरदारी गरेको छ। मंगलबार कमलपोखरीस्थित एक रेस्टुरेन्टमा बसेको शेखर पक्षको बैठकले देउवाको कदमको विरोध जनाएको हो।
बुधबारमात्रै देउवाले नेविसंघका अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्ति दिएका छन्।
तदर्थ कमिटीका दुबै भ्रातृ संगठनका अध्यक्ष देउवा निकट नेता हुन्। दुबै भ्रतृ संगठनका अध्यक्ष डा शेखर पक्षको सहमति विपरीत नियुक्त भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
'डा शेखर कोइरालासँग जुन सहमति गरिएको थियो। सहमति विपरीत भ्रातृ संगठनमा अध्यक्ष चयन गरिएको छ। बैठकमा यस विषयमा छलफल भयो', सहामहामन्त्री परियारले भने।
स्थानीय निर्वाचनमा टिकट वितरण र तालमेलको विषयमा पनि पार्टी सभापतिले अन्याय गर्न लागेको विषयमा छलफल भएको परियारले बताए। यस्तो विषयमा विधानसम्मत जानुपर्ने पक्षमा शेखर पक्ष रहेको उनले बताए। बैठकका समसमायिक विषयमा समेत छलफल भएको सहमहामन्त्री परियारले बताए।