PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

हेटौँडा उपमहानगरमा एमालेले जोगाउला आफ्नो साख?



निशा गुरुङ

हेटौँडा उपमहानगरमा एमालेले जोगाउला आफ्नो साख?

हेटौँडाः वाग्मती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकामा अहिले सबै दलको ध्यान स्थानीय निर्वाचनतर्फ केन्द्रित हुँदै गएको छ। दलहरुले स्थानीय निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता समेत दिएका छन्।

प्रदेशकै एकमात्र उपमहानगरपालिका भएकाले पनि निर्वाचनलाई चासोका साथ हेरिएको छ।

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिकामा जित हासिल गरेको थियो। एमालेविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनमा आबद्ध भए पनि एमालेले जित हासिल गरेको थियो।

उपमहानगर प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा विजयी भएकी थिइन्।

२०७४ मा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो साबित भएको थियो। प्रमुखमा महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारेका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएका थिए।

उपप्रमुखमा एमालेकी लामाले माओवादी केन्द्रका बलराम बललाई हराउँदै जित हात पारेकी थिइन्। लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत पाएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाएर तेस्रो बनिन्। नयाँ शक्ति पार्टीका उम्मेदवारले १ हजार १५३ मत ल्याउँदा अन्य उम्मेदवारले भने ५ सय मत कटाउन सकेनन्।

उपमहानगरका १९ वडामध्ये २०७४ को निर्वाचनमा एमालेले १२ वटा वडामा जित हात पारेको थियो। कांग्रेसले ५ वटा वडामा र माओवादी केन्द्रले २ वटा वडामा जितेको थियो।

एमालेले हेटौँडाको वडा नम्बर २, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८, १९ मा जितेको थियो भने कांग्रेसले वडा नम्बर १, ५, ६, १५ र १६ मा जितेको थियो। माओवादी केन्द्रले वडा नम्बर १२ र १४ मा जितेको थियो। त्यसो त हाल १४ नम्बरका वडाध्यक्ष माओवादी केन्द्र त्यागेर एमालेमा आबद्ध भएका छन्। एमालेबाट निर्वाचित वडा नम्वर १३ का अध्यक्ष एकीकृत समाजवादीमा आवद्ध भएका छन्। उपप्रमुख लामाले पनि एकीकृत समाजवादी रोजेकी छिन्। 

राजनीतिक समीकरण फेरिए पनि निर्वाचनमा फेरि एमाले पहिलो नै हुने एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको दाबी छ। 

उपमहानगरपालिकामा जितेका १२ वटा वडामध्ये १ वडाध्यक्ष र उपमेयर र २/३ जनामात्र एकीकृत समाजवादीमा प्रवेश गरेकाले ठूलो असर नपर्ने श्रेष्ठको दाबी छ।

संघीय स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतका नेताहरु समाजवादीमा भए तापनि ठूलो जिम्मेवारी भएका नेता एमालेमै रहेकोले खासै फरक नपर्ने उनको भनाई छ।

श्रेष्ठले दाबी गरे पनि दल विभाजन र अन्‍य दलहरुको गठबन्धनका कारण चुनाव एमालेका लागि सजिलो छैन। किनकी एमाले विभाजनको असर हेटौँडामा पनि देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell