PahiloPost

May 15, 2024 | २ जेठ २०८१

देउवाको मनोमानी स्वीकार नगर्ने शेखर समूहको निर्णय, भाग नखोज्ने बाचा गरे पनि बन्डा खोज्दै कोइराला



नेत्र तामाङ

देउवाको मनोमानी स्वीकार नगर्ने शेखर समूहको निर्णय, भाग नखोज्ने बाचा गरे पनि बन्डा खोज्दै कोइराला

काठमाडौँ: नेपाली कांग्रेसमा पछिल्लो समयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मनोमानी ढंगले अघि बढेको आरोप लागेको छ। बुधबार देउवाले तरुण दलका अध्यक्षमा विद्वान गुरुङ र नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेसँगै डा शेखर कोइराला पक्षले यस्तो आरोप लगाएको हो।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा देउवालाई नै बलियो बनाउने गरी अघि बढेको शेखर पक्ष पछिल्लो निर्णयप्रति असन्तुष्ट देखिएको हो। फागुन मसान्तभित्रै भ्रातृ संगठनमा तदर्थ कमिटी तोक्ने केन्द्रीय समितिको निर्णय रहे पनि पार्टी चुकेपछि बुधबार बिहानै डा शेखरले देउवालाई फोन गरेका थिए।

'डा शेखरले सभापतिलाई फोनमार्फत भ्रातृ संगठनको तदर्थ कमिटी नियुक्त गर्नुपर्ने विषयमा कुराकानी गर्नुभएको थियो। देउवाले पनि सल्लाह गरेर अघि बढ्ने बचन दिनुभएको थियो,' डा शेखर पक्षका एक नेताले भने, 'त्यसपछि हाम्रो पक्षको बैठक बस्यो। बैठक नसकिँदै नेविसंघ र तरुण दलको अध्यक्ष चयन भएको खबर आयो।'

आफ्नो पक्षको सुझाव र सल्लाहबिनै दुई भ्रातृ संगठनको नेतृत्व तोकेपछि कमलपोखरीको एक रेस्टुरेन्टमा भेला भएका शेखर पक्षका नेताहरु एकाएक रुष्ट बने। किनभने नेविसंघका अध्यक्ष शेर्पा र तरुण दलका अध्यक्ष गुरुङ दुबैजना देउवा समूहका नेताहरु हुन्। त्यसपछि नेताहरुबीच छलफल केही लम्बियो।

'हाम्रो समूहको अस्तित्व सभापतिले स्वीकार गर्नुभएन,' ती नेताले भने, 'सभापतिलाई हामीले सहयोग गर्दै आएका थियौँ। तर उहाँबाट न्याय पाउने देखिएन।'

निर्वाचनअघि पराजित भए पनि भागबन्डा नखोज्ने बताएका थिए डा शेखरले। पार्टीभित्र भागबन्डा र गुट संस्कृति मौलाएको भन्दै त्यसलाई अन्त्य गर्ने दाबी शेखरको थियो।

भागबन्डा नमाग्ने र गुटबन्दी नगर्ने अडान दोहोर्‍याउँदै आएको शेखर पक्षले पछिल्लो समय आफ्नो गुटको बैठक राखेको हो। शेखर पक्षले ४० प्रतिशतको भागबन्डामा समेत दाबी गरेको बताइएको छ। बैठकमा यसबारे छलफल भएको र देउवाले मनोमानी ढंगले गर्ने निर्णयलाई मान्यता नदिनेबारे कुरकानीसमेत भएको ती नेताले बताए।

'६०/४० को अस्तित्व उहाँले स्वीकार गर्नुभएन। अब हामीलाई सहभागी नगराई गरेको निर्णय अमान्य हुन्छ,' ती नेताले भने, 'यसपटक पनि मनोमानी ढंगले निर्णय भएको छ।'

सभापतिमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङको समर्थन पाएर विजयी बनेका देउवाले आफ्‍नो समूहको अस्तित्व स्वीकार नगरेको शेखर पक्षका नेताहरुको गुनासो छ। जसले गर्दा देउवा निरंकुश बन्दै जाने भय उत्पन्न भएको नेताहरु बताउँछन्।

तालमेलमा विधान मिच्न खोजेको आरोप

स्थानीय निर्वाचन नजिकिएसँगै कांग्रेससँग गठबन्धनमा रहेका प्रमुख दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेलको आश राखेका छन्। यता कांग्रेस सभापति देउवाले पनि माओवादी र एकीकृत समाजवादीकै कारण आफू प्रधानमन्त्री बनेको स्मरण गराउँदै गठबन्धनलाई चिढ्याउने खालको धारणा नराख्ने निर्देशन दिँदै आएका छन्।

कांग्रेसमा देउवा पक्षकै केही नेता र शेखर समूहले भने चुनावी तालमेल गर्न नहुने अडान व्यक्त गर्दै आएका छन्। डा शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा कांग्रेस एक्लै चुनावमा जानुपर्ने विषयमा जोड दिन्छन्। तर देउवा भने गठबन्धनसँग तालमेल गरेरै चुनावमा होमिने मुडमा छन्।

यसै विषयमा पनि बुधबार शेखर समूहमा छलफल भएको थियो। बैठकमा तालमेलका विषय एकपक्षीय नगरी केन्द्रीय समितिबाटै टुंगो लगाउनुपर्ने पक्षमा नेताहरु उभिएको एक नेताले बताए।

विधानले चार तहको संसदीय बोर्डलाई विभिन्न तहमा चुनावी तालमेलका विषयमा निर्णय गर्ने अधिकार दिएको छ। त्यसैले केन्द्रीय संसदीय बोर्डले तीनवटा संसदीय बोर्डको अधिकार कटौती गरेर निर्णय लिन नसक्ने शेखर समूहको निष्कर्ष रहेको छ।

सोही कारण विधान मिचेर तीन वटा संसदीय समितिको अधिकार कटौती गर्नेगरी चुनावी तालमेलका विषयमा सभापतिले एकल निर्णय गर्न नसक्ने सहमहामन्त्री जीवन परियारले बताए।

टिकट वितरणमा पनि सभापतिले अन्याय गर्न लागेको भन्दै शेखर समूहले आपत्ति जनाएको छ।

'केन्द्रीय संसदीय बोर्डले महानगरपालिकाका उम्मेदवार मात्र टुंगो लगाउन सक्छ। त्यो बाहेकका स्थानीय तहमा प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, जिल्ला संसदीय समिति र प्रदेश संसदीय समितिले निर्णय लिने व्यवस्था विधानमा छ,' सहमहामन्त्री परियारले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell