PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता



पहिलोपोस्ट

एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता

डेटिङ सर्भिस कम्पनी ‘म्याच’ले सोमवार सिङ्गल प्यारेन्ट्स (एकल अभिभावक)को लागि डेटिङ एप सार्वजनिक गरेको छ। म्याचले एकल अभिभावकलाई डेटिङबाट रोक्ने केही अवरोध हटाउने लक्ष्य राखेको ‘स्टिर’ नामक नयाँ एप ल्याएको हो।

 

‘स्टिर’ सामान्यतया मुलधारका डेटिङ एपमा नभएका एकल अभिभावकको विशिष्ट डेटिङ आवश्यकता पूरा गर्नमा केन्द्रित रहेको कम्पनीले बताएको छ। यो एपमार्फत एकल अभिभावकले आफ्नो समय तालिका तुलना गर्न सक्ने र एउटै खाली समय भएका व्यक्तिहरुसँग मात्रै म्याच हुने अवस्थाको सुनिश्चित गरिएको बताइएको छ। एपले मानिसहरूलाई उनीहरूको व्यक्तित्व र मूल्यमान्यताबारेका प्रश्नहरूमार्फत पनि मिलाउन सक्ने कम्पनीको भनाइ छ।

 

‘स्टिर’को मूल कम्पनी म्याच ग्रुपका टिन्डर, म्याच, हिन्ज, ओकेक्युपिडलगायत अन्य डेटिङ सेवाहरू पनि छन्।

 

‘हरेक वर्ष हामीले सर्वेक्षण गर्‍यौँ र एकल व्यक्तिहरूको अन्तर्वार्ता लियौँ, र प्रत्येक वर्ष हामीले एउटै विषयवस्तु फेला पार्‍यौँ: एकल अभिभावकलाई डेटिङ गर्न गाह्रो हुन्छ’, म्याच ग्रुपको न्यू भर्टिकलका उपाध्यक्ष डिन्ह थि बुईले सीएनएनलाई भने, ‘उनीहरूले डेटिङ संसारमा लाज महसुस गर्छन्, जस्तै कि उनीहरूको बालबच्चाहरु छन् भनेर खुलासा गर्नु नराम्रो हो भन्ने बुझाइ उनीहरुमा छ। हामीले यो पनि देख्यौँ कि एकल अभिभावकहरू स्वाभाविक रूपमा अन्य एकल अभिभावकहरूप्रति आकर्षित हुन्छन् किनभने उनीहरु समान अवस्थामा हुने भएकाले उनीहरूले आफ्नो अवस्थाहरुबारे व्याख्या गरिरहनु पर्दैन।’

 

यो एप केही हदसम्म आफ्नी बहिनीबाट प्रेरित भएको बुईले बताए। उनकी बहिनीको दुई सन्तान रहेको र उनले एकल अभिभावकले अनलाइनमा सामना गर्ने चुनौतिहरूबारे सुनेपछि डेटिङ सेवामा जोडिन असहज महसुस गरेको बुईले बताए। म्याच ग्रुपले यस विषयमा आफ्नै अध्ययन पनि सञ्चालन गरेको बताएको छ। जसमा मुलधारका डेटिङ एपहरूमा पहिलो डेटपछि एकल अभिभावकलाई बेवास्ता गर्ने गरिएको पाइएको थियो।

 

‘मैले यी चुनौतिहरू देखेँ जसले उनलाई डेटिङ संसारमा फर्किन दिइरहेको थिएन। र, म एक सहयोगी समुदाय निर्माण गर्न चाहन्थेँ जसले उनीजस्तै एकल अभिभावकको हेरचाह गरोस् र उनीहरू कसैबाट पनि परीक्षित हुने डर बिना नै एक अर्कासँग जोडिन सकुन्’, उनले भने, ‘आफ्ना बच्चाहरू छन् भन्ने कुरा सेयर गर्न समस्या होला वा बेबिसिटर नपाएका कारणले डेट रद्द गर्नुपर्ने हुन सक्छ भन्नेबारे उनीहरुले अब चिन्ता गरिरहनु पर्दैन।’

 

अमेरिकाको ‘नेसनल सिङ्गल प्यारेन्ट्स डे’मा सार्वजनिक गरिएको एप एप्पल एपस्टोर र गुगल प्लेमार्फत डाउनलोड गर्न सकिन्छ। सेवा डाउनलोड गर्न र म्यासेज गर्न निःशुल्क छ। यसको प्रिमियम मेम्बरसिपको लागि तीन महिनाको ८९.९९ डलर शुल्क लाग्छ, जसमा ‘बुस्टिङ’ (स्थानीय क्षेत्रमा आफ्नो प्रोफाइलको प्रोमोसन गर्ने) र ‘सुपर लाइक’ (आफू कसैप्रति निकै आकर्षित भएको देखाउन) समावेश छन्।

 

यो नयाँ एप थप ग्राहकहरू आकर्षित गर्न डेटिङ एपहरूको पोर्टफोलियोमा विविधता ल्याउने म्याच ग्रुपको रणनीतिको एक हिस्सा हो। गत नोभेम्बरमा कम्पनीले आफ्ना केही ब्रान्डका लागि दीर्घकालीन योजना सार्वजनिक गरेको थियो, जसमा ‘मेटाभर्स’मा भर्चुअल डेटिङ अनुभवहरू सुरु गर्ने योजनाहरू समावेश थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell