
काठमाडौं: नेपाली राष्ट्रिय टोलीले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दैछ। आज साँझ पौने ६ बजे थाइल्याण्डस्थित चुनवरी स्टेडियममा खेल सुरु हुनेछ।
नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी कप छनोटको अन्तिम तयारीका रुपमा यो खेललाई हेरेको बताएका छन्। त्यस्तै कप्तान किरण चेम्जोङले तयारी राम्रो भएको भन्दै एएफसी कप छनोटका लागि यो खेल महत्वपूर्ण हुने प्रिम्याच कन्फ्रेन्समा बताए।
थाइल्याण्ड फिफा वरीयतामा १ सय १२ औं स्थानमा छ भने नेपाल १६७ औं स्थानमा छ। थाइल्याण्ड पछिल्ला ८ वटा खेलमा अपराजित छ।
पछिल्ला ८ खेलमा थाइल्याण्डको नजिता
थाइल्याण्ड भर्सेस इन्डोनेसिया २-२ बराबरी
थाइल्याण्ड भर्सेस इन्डोनेसिया ४-० जित
थाइल्याण्ड भर्सेस भियतनाम ०-० बराबरी
थाइल्याण्ड भर्सेस भियतनाम २-० जित
थाइल्याण्ड भर्सेस सिंगापुर २-० जित
थाइल्याण्ड भर्सेस फिलिपिन्स २-१ जित
थाइल्याण्ड भर्सेस म्यानमार ४-० जित
थाइल्याण्ड भर्सेस टिमोर लेस्टे २-० जित
थाइल्याण्ड भर्सेस मलेसिया १-० हार
अर्कोतर्फ साफ च्याम्पियनसिपको फाइनलमा पराजित भएयता नेपालले दुई खेल खेलेको छ, जसमा दुवैवटामा जित निकालेको छ। पछिल्लो समय नेपालले घरेलु मैदानमा मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा दुबै खेलमा १-० गोल अन्तरले जित निकालेको थियो।
थाइल्याण्डसँगको यो खेललाई अगामी एएफसी कप क्वालिफायर्सको तयारीका रुपमा हेरिएको छ। एएफसी एसियन कप २०२३ को छनोटमा नेपाल समूह 'ए' मा परेको छ। नेपालले थाइल्याण्डमै छँदा स्थानीय क्लब चोनबुरीसँग पनि खेल्नेछ।
नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया समूह 'ए' मा छन्। यो समूहका खेलहरु कुवेतमा हुनेछन्। नेपालले जोर्डनसँग जुन ८ तारिख, कुवेतसँग ११ तारिख र इन्डोनेसियासँग १४ तारिखमा खेल्नेछ। जोर्डन र कुवेतसँग यसअघिको चरणमा पनि नेपालले प्रतिस्पर्धा गरिसकेको छ।
नेपालले पछिल्लो पटक जनवरी २९ र फेब्रुअरी १ मा मरिसससँग मैत्रीपूर्ण खेल खेलेको थियो।
नेपाली टोली
किरण कुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अन्जन विष्ट, एरिक विष्ट, नवीन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द