
जनकपुरधाम : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले कांग्रेसलाई परनिर्भर नभई आत्मनिर्भर पार्टी बनाउनु पर्नेमा जोड दिएका छन्।
१४औं अधिवेशनबाट निर्वाचित धनुषाका सभापतिसहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण समारोहमा सम्बोधन गर्दै पूर्व उपसभापति निधिले यस्तो धारणा अगाडि सारेका हुन्।
आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबिच सहकार्य गर्नेबारे छलफल चलिरहेका बेला उनले आत्मनिर्भर पार्टी बनाउनका लागि कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताए।
संविधान र प्रणालीको रक्षाका लागि दलहरु बिच सहमति र सहकार्य आबश्यक भएको उल्लेख गर्दै निधिले एकतावद्ध भएर आसन्न स्थानीय चुनावमा जाँदा कांग्रेस एक्लैले बहुसंख्यक पालिकामा चुनाव जित्ने दाबी गरे। अहिले देशभर कांग्रेसका पक्षमा राम्रो वातावरण रहेको निधिको भनाई थियो।
कांग्रेसलाई जिताउन कार्यकर्तालाई घर–घरमा पुग्न आग्रह गर्दै उनले टिकट नपाउनेलाई आवेशमा नआई जसले टिकट पाएको छ उसैलाई एकवद्ध भएर चुनावी अभियानमा लाग्न उनले आग्रह गरे। टिकटका लागि नेताका घरमा नभई वडाका घरघरमा गएर जनतासँग कांग्रेस र मतदातासँग रुख चिन्हको अभियान संचालन गर्नुपर्ने उनको भनाई थियो।
उनले पार्टीको आन्तरिक निर्वाचनलाई कसैले पनि हार जितका रुपमा लिन नहुने भन्दै निर्वाचित जिल्ला कार्यसमितिलाई संगठन विस्तार र सुदृढीकरणमा सफलता मिलोस् भन्ने कामना गरेका थिए।