PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

२७ वर्षीय युवकको जिल्ला अदालतभित्रको हर्कत : इजलासको ढोका फोरेर फ्याले फाइल



पहिलोपोस्ट

२७ वर्षीय युवकको जिल्ला अदालतभित्रको हर्कत : इजलासको ढोका फोरेर फ्याले फाइल

काठमाडौं : जिल्ला अदालत कास्कीको ढोका फोडेर भित्र छिर्दै कागजपत्र छरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका घर भएका २७ वर्षीय अर्जुन परियार (दावा)लाई नियन्त्रणमा लिएको हो।

बुधवार राति पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम स्थित जिल्ला अदालत कास्कीको परिसरभित्र उनी अनधिकृत रुपमा प्रवेश गरेको देखिएको थियो। १ नम्बर इजलास कोठाको ढोकामा लगाएको ताला फोडिएको, इजलासको भित्रको काठको टेबुल माथि राखिएको इन्डेक्स फाइलहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो। त्यस्तै ६ नम्बर इजलासको मुल ढोकामा लगाएको ताला फोडिएको तथा कोठा भित्र रहेको काठको टेबुलमा रहेको घर्रा खुल्ला भेटिएको थियो। त्यहाँ पनि कागजातहरु यत्रतत्र छरिएको अवस्थामा थियो।

पक्राउ परेका परियार यसअघि पनि विभिन्न अपराधमा पक्राउ परिसकेका व्यक्ति हुन्। २०७३ असार ६ गते, २०७३ भदै १५ गते  अभद्र व्यवहारमा मुद्दा थियो उनीमाथि। त्यस्तै अशोज ३० गते गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा चोरी केसको उजुरी थियो। २०७४  कार्तिक २१ गते लागु औषध लगायतका केसमा उनी आरोपी थिए। २०७६ चैत ९ गते लागु औषध मुद्दामा कारागार बसेर २०७८ फागुन २३ गते थुनामुक्त भएका थिए।

उनले कार्यालयबाट केही लगेको भने देखिएको छैन। लागु औषध र पैसाका लागि नै उनले यस्तो गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

'म्याद थप गर्दा, सुनुवाइ गर्दा ऊ पटकपटक अदालत पुगेको थियो। त्यहाँ उसले बरामद भएको लागु औषध र पैसा देखेको थियो। त्यसैका लागि यस्तो गरेको देखिन्छ,' जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell