PahiloPost

Feb 6, 2025 | २४ माघ २०८१

चिनियाँ विदेश मन्त्री पाकिस्तानबाट पुगे अफगानिस्तान, काठमाडौं ओर्लिनु अघि के दिल्ली पुग्लान्?



पहिलोपोस्ट

चिनियाँ विदेश मन्त्री पाकिस्तानबाट पुगे अफगानिस्तान, काठमाडौं ओर्लिनु अघि के दिल्ली पुग्लान्?

काठमाडौं : दक्षिण एसियाली राष्ट्रहरुको भ्रमणमा निस्किएका चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तान पुगेका छन्।

उनी पाकिस्तानको भ्रमण सकेर अफगानिस्तान पुगेका हुन्। यस विषयमा आधिकारिक रुपमा तालिका भने चिनियाँ तथा अफगानिस्तान सरकारले सार्वजनिक गरेको थिएनन्।

विश्वका मुस्लिम राष्ट्रहरुका विदेश मन्त्रीहरुको सम्मेलनमा सहभागि हुन विशेष निमन्त्रणा मार्फत् पाकिस्तान पुगेका उनी शुक्रवार नेपाल आउने कार्यक्रम रहेको छ। त्यसअघि अघोषित रुपमा उनी अफगानिस्तान पुगेका हुन्।

अफगानिस्तानको टोलो न्यूजले त्यहाँका विदेश मन्त्रालयका सहप्रवक्ता जिया अहमदलाई उदृत गर्दै विदेश मन्त्री वाङ अफगानिस्तान पुगेको जनाएको छ।

उनी नयाँ दिल्ली पनि जान सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यद्यपि, यस विषयमा भारतीय तथा चिनियाँ विदेश मन्त्रालयले केही पनि जानकारी गराएका छैनन्।

विदेश मन्त्री वाङको अप्रत्यासित रुपमा दिल्ली भ्रमण हुन लागेको रोयटर्सले जनाएको छ। उनी शुक्रवार नै दिल्ली पुग्‍ने बताइएको छ। भारतीय अधिकारीलाई उदृत गर्दै रोयटर्सले समाचार प्रकाशित गरे पनि दुवै देशका विदेश मन्त्रालयले आधिकारिक रुपमा भ्रमण हुने जानकारी सार्वजनिक गरेका छैनन्। यस भ्रमण दुई वर्ष अगाडिदेखि चर्किएको सीमा विवादपछि भारतमा हुन लागेको चिनियाँ उच्चस्तरीय भ्रमण हो।

रोयटर्सले स्रोतलाई उदृत गर्दै विदेश मन्त्री वाङले भारतीय विदेशमन्त्री सुब्रमनियम जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने कार्यक्रम रहेको समाचार लेखेको छ। यद्यपि, भेटको एजेन्डा खुलाइएको छैन। तर, सो भेटमा युक्रेन मामिलाको विषयमा छलफल हुने बताइएको छ। पछिल्लो साता मात्र भारतमा अष्ट्रेलिया, बेलायत, जापान र अमेरिकी अधिकारीको भ्रमण भएको थियो। लगत्तै चिनियाँ विदेश मन्त्री जान लागेका हुन्।

विदेशमन्त्री वाङ शुक्रवार नेपाल आइपुग्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell