PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

नेपाली क्रिकेटमा पुस्तान्‍तरणका कुरा, क्रिजमा जम्ला युवा टोली ?



मुकुन्द घिमिरे

नेपाली क्रिकेटमा पुस्तान्‍तरणका कुरा, क्रिजमा जम्ला युवा टोली ?
Photo : CAN

काठमाडौं : पछिल्लो समय नेपाली क्रिकेट टोली निकै व्यस्त छ। ब्याक टु ब्याक सिरिज खेलिरहेको छ नेपालले। केही हप्ताअघि ओमन र यूएईमा फरकफरक प्रतिस्पर्धामा उत्रेको नेपालले भोलिबाट होम ग्राउन्डमा पपुवा न्यूगिनी र मलेसियासँग एक दिवसीय र टि-ट्वान्टी सिरिज खेल्दैछ। जसका लि घोषित टोलीलाई लिएर अहिले क्रिकेट क्षेत्रमा चर्चा चुलिएको छ।

अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोटका लागि ओमन पुगेको नेपाली टोलीले समूह चरणमा राम्रै खेल प्रस्तुत गरेको थियो। तर, सेमिफाइनलमा यूएईसँग पराजित हुँदै नेपाल बाहिरियो। प्रतियोगिता अघि ओमनमै चारदेशीय सिरिजमा पनि नेपालले यूएईसँग पराजय ब्यहोरेको थियो।

ओमन जानु अघि प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टोलीको बलियो पक्ष युवा खेलाडी र ब्याटिङ भएको पटकपटक दोहोर्‍याएका थिए। तर, क्रिजमा उनको दाबी गलत साबित भयो। खेलाडी र नेपाल क्रिकेट संघ (क्यान)को विवादमा रापिएर नयाँ कप्तानको कप्तानीमा ओमन पुगेको नेपाली टोलीका युवा खेलाडीको प्रदर्शन न त उत्कृष्ट देखियो न त ब्याटिङ उत्कृष्ट थियो। अझ अनुभवी खेलाडीबाटै जिम्मेवार भएर ब्याटिङ गरिएको देखिएन। ओमन भ्रमणमा नेपाली टोली खासगरी दीपेन्द्रसिंह ऐरीको ब्याटिङमा निर्भर रह्यो।

ओमनबाट फर्किए लगत्तै नेपाली टोली यूएईमा हुने विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजको तयारीमा जुट्यो। टी २० फर्म्याटबाट एकदिवसीय फर्म्याटमा ‘स्वीच’ हुन भन्दै नेपाली टोली श्रीलंका पुगेर त्यहाँका स्थानीय टोलीसँग ४ वटा अभ्यास खेल खेल्यो। जसमा तीन जित र एक हार ब्यहोर्‍यो नेपालले। पूरा ५० ओभर खेल्न भने स्थानीय टिमहरुसँग नै संघर्ष गर्‍यो तर सकेन। अनि नेपाली टोली प्रस्थान गर्‍यो यूएई। प्रतियोगितामा आरिफ शेख र रोहित पौडेललाई छाड्ने हो भने ब्याटिङ लाइन अप छताछुल्ल नै भयो। ओमनमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र सिंह ऐरी पनि एकदिवसीय फर्म्याटमा सफल हुन सकेनन्। अझ यूएईसँगको खेलमा त सामान्य लक्ष्य पछ्याएर पनि नेपाली टोलीले सय रन पूरा गर्न नै संघर्ष गरेको देखियो। ब्याटिङमा खराब सट खेल्दै ब्याट्सम्यानहरु धमाधम पभेलियन फर्किँदा नेपालले एकदिवसीय इतिहासमा सबै भन्दा कम रन बनाएको खराब इतिहाससमेत बनायो। अझ खेलका क्रममा मैदानमै खेलाडीहरु बिचको आपसि मतभेदलाई समर्थकहरुले नियालिरहेका थिए। र, केही भिडियो क्लिप सामाजिक सञ्जाल भाइरल पनि भए। जसलाई 'खेलाडी बिचको इगो' का रुपमा व्याख्या समेत गरिरहेका छन्।

युएईबाट नेपाली टोली बुधवार स्वदेश फर्कियो। नेपाल आएको पर्सी पल्टै अर्थात शुक्रवार नै नेपाली टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय खेल खेल्दैछ। सँगसँगै नेपाल, पपुवा न्युगिनी र मलेसियाले टी २० सिरिज खेल्दैछन्।

यसपालाको नेपाली टोली सँधैको भन्दा फरक छ। टोलीका नियमित सदस्यसमेत रहेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित उनको पुस्ताका खेलाडी विनोद भण्डारी, शरद भेषवाकरलगायतका अनुभवी खेलाडी टोलीमा छैनन्। एकदिवसीय र टी २० फर्म्याटका लागि दुईवटा टोली घोषणा गरिँदा टिममा भरपुर युवा खेलाडीको उपस्थिति छ। दुवै तर्फ १५ सदस्यीय खेलाडी घोषणा गरिएकोमा सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र कमलसिंह ऐरी दुवै फर्म्याटमा छन भने बाँकी ८ खेलाडी दुवै फर्म्याटमा फरक छन्। यसरी हेर्दा यो टिमका अनुभवी खेलाडीहरु सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी  तथा आरिफ शेखमाथि थप जिम्मेवारी हुने देखिन्छ।

टी २० फर्म्याटका लागि घोषणा गरिएको टिम

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल ,सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनास बोहोरा, विवेक यादव, दीलिप नाथ, लोकेस बम, कुशल मल्ल, आदिल अन्सारी

एकदिवसीय फर्म्याटका लागि घोषणा गरिएको टिम

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोब, शुसन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भीम सार्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell