PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

३ करोड २० लाखमा नेपाल भित्रिएको 'आरआरआर'ले सिनेमा हलमा जमायो कब्जा, उठाउँला त पैसा ?



लक्ष्मी बलायर

३ करोड २० लाखमा नेपाल भित्रिएको 'आरआरआर'ले सिनेमा हलमा जमायो कब्जा, उठाउँला त पैसा ?

काठमाडौं : बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म 'आरआरआर' भोलिबाट प्रदर्शनमा आउँदैछ। ‘बाहुबली’ निर्देशक एसएस राजमौली निर्देशित यो फिल्म विश्वभरका ८ हजार स्क्रिनमा रिलिज हुँदैछ।

फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ। विश्वभर राम्रो शो पाएको यो फिल्मको नेपालमा पनि लोभलाग्दो 'क्रेज' देखिएको छ। नेपालका सिनेमाहलमा फिल्म 'आरआरआर' ले कोरोना महामारी यताकै उच्च शो पाएको छ। कतिपय हलमा त यस फिल्मले एकल प्रदर्शनको मौका समेत पाएको छ।

नेपालकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले फिल्म 'आरआरआर' लाई सबैभन्दा धेरै शो दिएको छ। भोलि शुक्रवार क्युएफएक्सले यो फिल्मलाई देशैभर ८९ वटा शो दिएको छ। शनिवार भने यस फिल्मले देशैभरि ८७ वटा शो पाएको छ।

शुक्रवार उपत्यकाका क्युएफएक्सका चार हलहरूमा यस फिल्मले ४० वटा शो पाएको क्युएफएक्सका समीर श्रेष्ठले जानकारी दिए। भन्छन्, 'क्युएफएक्सका हलहरूमा 'आरआरआर' लाई राम्रो शो दिइएको छ। भोलि मात्रै यस फिल्मले ८९ वटा शो पाएको छ। शुक्रवार र शनिवार 'आरआरआर' का सम्पुर्ण शोहरू लगभग हाउसफूल नै छन्।'

आरआरआरले हलमा कब्जा जमाउँदा यसअघि प्रदर्शनरत् फिल्महरुको शो घटेको छ। 'चिसो एष्ट्रे', 'बच्चन पाण्डे' र 'द कश्मिर फाइल्स' लाई भने एक/दुई शो मात्र दिइएको छ।

चाबहिलमा रहेको एफक्युब सिनेमामा 'आरआरआर' ले एकल प्रदर्शनको मौका पाएको छ। यस फिल्मले रिलिजको पहिलो दिन १५ शो पाएको एफक्युब सिनेमाका व्यवस्थापक रामहरी कोइरालाले बताए।

'भोलि सम्पुर्ण हलमा आरआरआरमात्रै रिलिज हुनेछ। अन्य कुनै पनि फिल्महरू रिलिज हुने छैनन्। हामीले यस फिल्मलाई १५ वटा शो दिएका छौं। मेघा बजेटको यो फिल्ममा दर्शकहरूको निकै राम्रो क्रेज छ,' उनले भने।

एफक्युब सिनेमामा मंगलवारदेखि नै अग्रिम बुकिङ खुला गरिएको थियो। जसमध्ये शुक्रवार, शनिवार र आइतवारका धेरैजसो शोहरू हाउसफुल भइसेको समेत उनले बताए।

त्यसैगरि, कमलादीस्थित क्युज सिनेमामा पनि फिल्म 'आरआरआर' ले एकलौटी शो पाएको छ। 'आरआरआर' लाई १० वटा शो दिएको क्युज सिनेमाका सञ्चालक सुमित मैनालीले बताए।

'यस फिल्मले नेपालभरि राम्रो शो पाएको छ। जुन साउथ फिल्म 'पुष्पा' को भन्दा पनि निकै राम्रो हो। पहिले केही बलिउड फिल्म र स्पायडर म्यान रिलिज हुँदा पनि सोलो प्रदर्शन भएको थियो,' मैनाली बताउँछन्।

कीर्तिपुरको पांगामा रहेको 'कीर्तिपुर सिनेप्लेक्स' मा पनि फिल्म 'आरआरआर' ले चार शो पाएको छ। त्यसैगरि, सुन्धाराकै सीटीसी मलमा रहेको ‘सीडीसी सिनेमाज’ ले पनि यस फिल्मलाई ९ शो दिएको छ। यस्तै, बीग मुभिज, वान सिनेमाज लगायत मोफसलका हलमा पनि यस फिल्मलाई उच्च शो दिइएको छ।

‘बाहुबली’ फेम र चर्चित स्टारहरूका कारण यस फिल्मप्रति दर्शकहरूले निकै क्रेज देखिन्छ। दर्शकलाई हलमा फर्काएर हल चलायमान बनाउन 'आरआरआर' ले ठूलो सहयोग गर्ने हल संचालकको आशा छ।

'३ करोड २० लाखमा भित्रियो आरआरआर' 

फिल्म 'आरआरआर' लाई गोपीकृष्ण मुभिजको 'सिस्टर कम्पनी' अ एट फिल्म्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याएको हो। यस फिल्मलाई २ करोड भारतीय रूपैयाँमा नेपाल ल्याएको  अ एट फिल्म्सका संचालक निरज पौडेलले बताए।

'हामीले ३ करोड २० लाख रूपैयाँ तिरेर आरआरआर फिल्म नेपाल ल्याएका हौं। जुन अहिलेसम्मकै बढी पैसा हो। ६ महिनाको लागि सम्झौता गरेका छौं। भोलि यो फिल्म १२१ वटा नेपालभरका हलहरूमा रिलिज हुनेछ,' पौडेलले भने।

'बाहुबली' ब्राण्डका कारण आफूले उच्च मूल्यमा फिल्म नेपाल भित्र्याएको उनले बताए। आफूले गरेको लगानी उठ्नेमा विश्वस्त रहेको उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell