
काठमाडौं : नेकपा एमालेकी केन्द्रिय सदस्य रेखा कुमारी झाले प्रभु साहविरुद्ध उजुरी दिएकी छिन्। बबरमहलस्थित कार्की ब्याङ्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा झाले अध्यक्ष केपी शर्मा ओलीलाई उजुरी पत्र बुझाएकी हुन्।
झाले बुधवार प्रस्तुत राजनीतिक प्रतिवेदनमा असहमति राखेकी हुन्। उनले राजनीतिक प्रतिवेखनमा ‘अधिवेशनका अन्य काम सम्पन्न भएर पनि पर्सा जिल्ला कमिटीको नेतृत्व घोषणा हुन बांकी’ उल्लेख भएकोमा असहमति जनाएकी हुन्। उनले प्रतिवेदनमा रौतहट जिल्ला छुटेको भन्दै विरोधका बिच प्रभु साहले केही व्यक्तिहरुलाई सपथ खुवाएको आरोप लगाएकी हुन्।
‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिको बाबजुद हलले अनुमोदन नै नगरेको पाँचजना पदाधिकारी मध्ये रातमा कमरेड प्रभु साहको नेतृत्वमा अज्ञातस्थलमा लगि सपथ खुवाइएको कार्यको घोर निन्दा गर्छु,’ उनले लेखेकी छिन्।
उनले ओलीसमक्ष प्रभु साहले जबरजस्ती सपथ खुवाउने कार्यलाई वैधानिकता नदिन आग्रह समेत गरेकी छिन्। उनले बुधवार मधेश प्रदेशका अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि सच्याउन माग गरेकी छिन्। उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न भयो भन्ने कुरा भ्रम र झुठ भएको भन्दै सच्याउन माग गरेकी हुन्।