
बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ स्थित जितगढीमा सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।
बिहीवार बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए।
ठक्कर खाएर सडकमा लडेका स्कुटरका चालकलाई बुटवलतर्फ आउँदै गरेको तिलोत्तमा क्याम्पसको ना १ क ४१४६ नम्बरको बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
दुर्घटनामा परि गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भई हाल बुटवल-१३ बस्ने २३ वर्षीय मनोज थापाको मृत्यु भएको प्रवक्ता पौडेलले बताए। बस, बसका चालक र मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।