PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

'पीर' बाट हटाइएको दृश्यबारे सुरक्षा पन्तले भनिन् : म भएको भए हटाउँदिन थिएँ



पहिलोपोस्ट

'पीर' बाट हटाइएको दृश्यबारे सुरक्षा पन्तले भनिन् : म भएको भए हटाउँदिन थिएँ

काठमाडौं : गायक प्रकाश सपुतले पछिल्लो गीत ‘पीर’बाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको बताएका छन्। शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाब नहटाएको बताएका हुन्।

‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदी त्यहाँ नेर लोकेन्द्र सरको भुमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो। यसलाई भावनात्मक हिसावले सोचिदिनु हुन अनुरोध गर्छु,’ सपुतले भने, ‘मन र भावनाका हिसावले त्यो पात्रको चित्त दुख्यो भन्ने हिसावले त्यो पार्ट हटाएको हो। जो जनयुद्ध लडेर आफैँमा चित्त दुखाएका छन्। उनीहरुको किन चित्त दुखाउने भनेर त्यो भाग हटाएको हो।’

उनले उक्त दृश्यले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट हटाउनु परेको समेत बताए।

उक्त गीतमा अभिनय गरेकी अभिनेत्री सुरक्षा पन्तले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त व्यक्तिगत कुरा भएको बताइन्। तर, आफू भएको भए उक्त दृश्य नहटाउने उनले बताइन्।

‘मलाई पनि यस भिडियोको बारेमा केही कुराहरु आएका छन्। यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो।  म भएको भए हटाउँदिन थिएँ। उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो। त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो,’ उनले भने।

गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेश देखाइएको थियो। जसमा जनयुद्धका लडाकुहरुको अवस्था चित्रण गरिएको छ। नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गरेको भन्दै आपत्ति जनाएको थियो। पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गीतमा धेरै आपत्ति जनाउन नपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell