PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एमालेको उम्मेद्वार हुन ६ मापदण्ड, गठबन्धनका कारण कार्यकर्ताको मनोबल कमजोर हुन सक्ने एमालेको बुझाइ



प्रकाश भण्डारी

एमालेको उम्मेद्वार हुन ६ मापदण्ड, गठबन्धनका कारण कार्यकर्ताको मनोबल कमजोर हुन सक्ने एमालेको बुझाइ

काठमाडौं : नेकपा (एमाले)ले उम्मेद्वार चयनका बारेमा मापदण्ड तय गरेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे एमालेले विभिन्न ६ वटा मापदण्ड तयार पारेको हो।

बुधवार र बिहीवार बबरमहलस्थित कार्की बैंक्वेटमा बसेको बैठकले स्थानीय तहका उम्मेद्वार छान्दा तल्लो कमिटीको सिफारिसलाई आधार मान्ने निर्णय गरेको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि पार्टीभित्र कोही कसैलाई पनि चोट पुग्नेगरी अभिव्यक्ति नदिन निर्देशन दिएका थिए। उनले जनताको घरदैलोमा गएर पार्टीलाई पहिलो बनाउन पनि नेताहरुलाई सुझाएका छन्।

'एमालेलाई अत्याधिक बहुमतका साथ पहिलो पार्टीका रुपमा स्थापित गर्ने गरि केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेका छौं। जनताका सेवक भएर घरदैलोमा जान अध्यक्षले निर्देशन दिनु भएको छ,' प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने।

उनले एमालेसँग स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्ने अर्को पार्टी नभएको दाबी गरे। तर सत्ता गठबन्धनले एमाले कार्यकर्ताको मनोबल कमजोर हुनसक्ने बैठकको निचोड रहेको बताए।

'एमालेसँग विचार र दृष्टिकोणका हिसाबमा प्रतिस्पर्धा गर्ने पार्टी छैन्। तथापि गठबन्धनका नाममा कार्यकर्ताको मनोबल कमजोर बनाउने काम हुन सक्छन्,' रिजालले भने। 

आसन ग्रहण प्रति ओली आजित

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीका कार्यक्रमहरु छरितो नभएको भन्दै आसन ग्रहणले समारोह 'भद्दा' हुने गरेको टिप्पणी गरे। उनले इलाममा केही दिन अघि भएको पार्टीको कार्यक्रमलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै आसन ग्रहण गर्नेहरुको संख्या धेरै हुने भएकाले सभा/सम्मेलनहरु प्रभावित भइरहेको बताए।

उनले ५ जना भन्दा बढी वक्ता नराख्न र वक्ता बाहेकलाई आसन ग्रहण नगराउन पनि निर्देशन दिएका छन्। '५ जना भन्दा बढी त वक्ता नराखौं। नियममा गएपछि त आसन ग्रहण गर्न पाएन भनेर मन दुख्ने भए सबैको दुख्ला। आसन ग्रहण गर्न नपाएर पार्टी छोडे पनि भन्नु केही छैन,'ओलीले बैठकमा भनेका थिए। उनले फूलमाला र खाँदाको पनि कम प्रयोग गर्नुपर्ने बताएका छन्। 

उम्मेद्वार छान्न सिफारिस अनिवार्य

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार छान्दा पार्टीमा किचलो हुने भन्दै एमालेले तल्लो कमिटीको सिफारिस र ६ वटा मापदण्डका आधारमा उम्मेद्वार छान्ने निर्णय गरेको छ। वडा अध्यक्षको हकमा वडा कमिटीको सिफारिसका आधारमा इलाका वा जिल्ला कमिटीले निर्णय गर्न सक्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ।

गाँउपालिका/नगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा भने गाउँ, नगर र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ।

उम्मेद्वार बन्न ६ मापदण्ड

पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशिताका आधारमा एमालेमा उम्मेद्वार चयन हुने भएका छन्।

चैत मसान्तसम्म कम्तिमा एक महिलासहित ३ जना व्यक्तिलाई उम्मेवारको रुपमा सिफारिस गर्न निर्देशन दिइएको छ। अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा नै अहिले एमालेका तर्फबाट जनप्रतिनिधि रहेकाहरुलाई पनि वैशाखमा हुने निर्वाचनमा उम्मेद्वारको प्राथमिकतामा पर्ने बताउँदै आएका छन्। 

घोषणापत्रका लागि कार्यदल

स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र बनाउन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ। उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, पोलिटव्यूरो सदस्य देवेन्द्र दाहाल, मधेश प्रदेशका सह ईन्चार्ज प्रभु साह कार्यदल सदस्य रहेका छन्।

पार्टीका बुद्धिजिवी, परिषद् इन्चार्ज मनोजजंग थापा, नीति अनुसन्धान प्रतिष्ठानका सदस्य डा. युवराज खतिवडा, स्थानीय विकास विभागका उपप्रमुख प्रभा बराल, नेपाल बुद्धिजिवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा र इञ्जीनियर सुशिल ज्ञवाली कार्यदलमा विज्ञका रुपमा रहेका छन्।

घोषणापत्र पार्टी स्थापना दिवसका अवसरमा वैशाख ९ गते सार्वजनिक गर्ने एमालेको निर्णय छ। स्थानीय तहले भने स्थानीय आवश्यकता अनुसारको प्रतिवद्धता पत्र बनाउन सक्ने छन्। ओलीले स्थानीय तहका प्रतिनिधिसँग स्थानीय निर्वाचनलाई केन्द्रित गरेर चैत १६ गते भर्चुअल संवाद गर्ने भएका छन्।

नव प्रवेशीको व्यवस्थापन कसरी?

एमालेले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर पार्टी प्रवेश अभियान चलाइरहेको छ। मुख्यगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एमालेमा नेता कार्यकर्ताहरु प्रवेश गरिरहेका छन्।

उनीहरुको व्यवस्थापनका लागि भन्दै एमालेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सचिवालयलाई अधिकार दिएको छ।

'पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुको व्यवस्थापनका लागि केन्द्रीय संगठन विभागले अभिलेख बनाइरहेको र जिम्मेवारी दिनका लागि केन्द्रीय सचिवालयलाई अधिकार प्रत्यायोजन गरिएको छ,'रिजालले भने।

यस्तै एमालेले पार्टीका कार्यक्रमलाई नियमित बनाउन पात्रो निकाल्ने भएको छ। उक्त पात्रोको आधारमा पार्टी परिचालन हुने एमालेले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell