
काठमाडौँः जबर्जस्ती करणी सम्बन्धी मुद्दामा अभिनेता पल शाह भनिने पूर्णविक्रम शाहलाई जिल्ला अदालत तनहुँले पूर्पक्षका लागि थुनामा पठाएको छ। न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो।
शाहले उक्त आदेशउपर अब एक तह माथिल्लो वा सोझै सर्वोच्चमा निवेदन दिन सक्नेछन्।
अदालतले शाहलाई तत्काल प्राप्त पाँच प्रमाणका आधारमा थुनामा पठाएको छ।
के छन् आधार?
अदालती बयानमा शाहले जबर्जस्ती करणी अस्वीकार गरेका छन्। तर, अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे पीडितकोमा गएको स्वीकार गरेको र त्यसको औचित्य पुष्टि गर्न नसकेको भन्दै थुनामा पठाउने पहिलो आधार बनाएको छ।
यस्तै पीडितले गरेको बयान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरुको बयानले समर्थन गरेको आदेशमा उल्लेख छ। पीडितको र बयानमा सामेल अन्य व्यक्तिहरुको भनाईलाई समर्थित गरेको भन्दै अदालतले दोस्रो आधार लिएको छ।
शाह आफैँले सार्वजनिक गरेको अडिओलाई अदालतले तेस्रो प्रमाणका रुपमा लिएको छ। छलफलका क्रममा रेकर्ड गरिएको अडिओ शाह स्वयमले सार्वजनिक गरेका थिए। प्रहरीले समेत उक्त अडिओलाई बलियो प्रमाणका रुपमा पेश गरेको थियो।
यस्तै, पीडितको शारीरिक परीक्षणको रिपोर्टलाई अदालतले चौथो प्रमाण मानेको छ। पीडितले दिएको बयान र मौकामा कागज गर्ने अन्य व्यक्तिहरुको भनाईलाई अदालतले पाँचौँ प्रमाणका रुपमा लिएको छ।