PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

चिनियाँ विदेशमन्त्री वाङ यी नयाँ दिल्लीमा, भारतले भन्यो 'अघोषित भ्रमण'



पहिलोपोस्ट

चिनियाँ विदेशमन्त्री वाङ यी नयाँ दिल्लीमा, भारतले भन्यो 'अघोषित भ्रमण'
Photo : Xinhua

चिनियाँ विदेश मन्त्री एवम् स्टेट काउन्सलर वाङ यी भारत पुगेका छन्। बिहीबार राति अफगानिस्तानबाट उनी भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन्।

चीनले वाङको भारत भ्रमणबारे केही पनि सार्वजनिक गरेको थिएन। भारतीय पक्षले पनि आधिकारिक रुपमा वाङको भ्रमणबारे केही खुलाएको थिएन। यद्यपि, मिडियामा वाङ आज वा भोलि भारत आउने भनेर समाचार बाहिरिएका थिए। केहीले भने वाङको भारत भ्रमण रद्द गरिएको दाबी गरेका थिए।

शुक्रबार वाङले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँग भेटवार्ता गर्न सक्ने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य नेताहरुसँग भेट हुने नहुने बारेमा केही बताइएको छैन। वाङको भ्रमणलाई भारतले ‘अघोषित भ्रमण’ भनेको छ। वाङको थप कार्यक्रम सार्वजनिक भएको छैन।

अफगानिस्तान जानुअघि वाङ पाकिस्तान भ्रमणमा थिए। पाकिस्तानमा हुँदा वाङ यीले जम्मू कश्मीरबारे दिएको बयानबारे भारतमा विरोध भइरहँदा उनी नयाँ दिल्ली पुगेका हुन्। भारत बसाइका क्रममा वाङ र भारतीय पक्षबीच युक्रेन र रसियाबीचको अवस्थाबारे छलफल हुन सक्ने बताइएको छ। उनको यो भ्रमण भूराजनीतिक दृष्टिकोणले महत्वपूर्ण भएको भारतीय मिडियाको रिपोर्टहरुमा उल्लेख छ। यस्तै, भारतले पनि जम्मू कश्मीर र लद्दाकको विषय उठाउन सक्ने अनुमान गरिएको छ। 

शुक्रबार दिल्लीबाट वाङ काठमाडौं आउने कार्यक्रम छ। वाङ तीन दिने भ्रमणका क्रममा नेपाल आउन लागेका हुन्।   

नेपाल बसाइका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। यस्तै, वाङ र नेपाली समकक्षी डा नारायण खड्काबीच चैत १२ गते द्विपक्षीय वार्ता हुनेछ।

वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने कार्यतालिका रहेको पराष्ट्र मन्त्रालयले जनाएको छ। वाङ चैत १३ गते स्वेदश फर्किनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell