
काठमाडौं: शहीद स्मारक बी डिभिजन लिगको क्लब श्री भगवतीका मुख्य प्रशिक्षक शैलेश कर्मचार्यलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले क्लबका आगामी तीन खेलको प्रतिबन्ध लगाएको छ। बाँसबारी क्लब र श्री भगवती क्लबबीचको खेलमा रेफ्रीमाथि हातपात गर्ने कार्य उनी पनि संलग्न देखिएको भन्दै उनीमाथि एन्फाले कारवाही गरेको हो। त्यस्तै क्लबमाथि पनि ५० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ।
बाँसबारी क्लबसँगको बुधवारको खेलमा २-१ गोलअन्तरले पराजय ब्यहोरेपछि भगवती क्लबका अफिसयलहरु मैदानमै गएर रेफ्री सुमन श्रेष्ठलगायत सुरक्षाअधिकारीहरु माथि हातपात गरेका थिए।
त्यस्तै क्लबका टिम म्यानेजर दीपेन्द्र डंगोल, राजाराम श्रेष्ठ र विक्रम डंगोललाई पनि लिगको बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ।
एन्फा सचिवालयले अनुशासन समितिलाई यो प्रकरणलाई लिएर अन्य कारवाहीका लागि सिफारिस गर्न सक्ने एन्फाले जनाएको छ।