PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रिय पुरुष हक्की: सेमिफाइनलको समीकरण पुरा



पहिलोपोस्ट

राष्ट्रिय पुरुष हक्की: सेमिफाइनलको समीकरण पुरा
तस्बीर: राखेप

काठमाडौं: विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले वागमती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ। गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच गण्डकीका आशिष ठकुरी भए।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३–१ गोलअन्तरमा पराजित गर्‍यो। सुदूरपश्चिमका दीपकराज जोशी, आयुष साह र भीम भट्टले समान १ गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका आयुष साह भए।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोल अन्तरमा पराजित गर्‍यो। लुम्बिनीका लागि अद्नान अन्सारी र सागर आचार्यले समान २–२ गोल तथा सुरजकुमार घर्ती र इम्तिहाज अन्सारीले समान १–१ गोल गरे। मधेस प्रदेशका लागि एक मात्र सान्तवना गोल आकाश साहाकानुले गरे। खेलको म्यान द म्याद म्याच लुम्बिनीका अद्नान अन्सारी भए।

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताको अंक तालिका अनुसार शुक्रबारको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले बताए।

चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell