
मोडर्नाले बुधवार ६ वर्ष मुनिका बालबालिकाका लागि तयार पारिएको कोभिड-१९ खोपको अन्तरिम नतिजा घोषणा गरेको छ।
६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइएको दुई २५ माइक्रोग्राम डोजको कोभिड-१९ खोप र १८ देखि २५ वर्षका वयस्कलाई दिइएको दुई १०० माइक्रोग्राम डोजले समान प्रतिरक्षा प्रतिक्रिया प्रदान गरेको कम्पनीले बताएको छ। यो नतिजाले वयस्कलाई खोपले प्रदान गरेको फाइदा साना केटाकेटीलाई पनि प्रदान गरेको कम्पनीको भनाइ छ।
खोपको दुई डोज बालबालिकालाई २८ दिनको अन्तरालमा दिइएको थियो।
बुधवार जारी गरिएको कम्पनीको विज्ञप्तिअनुसार सो डाटाले ‘एक बलियो तटस्थ एन्टिबडी प्रतिक्रिया’ र ‘अनुकूल सुरक्षा प्रोफाइल’ देखाएको छ।
सो डाटामा आधारित भएर मोडर्नाले आगामी हप्ताहरूमा बालबालिकामा खोपको प्रयोगको लागि अमेरिकी खाद्य र औषधि प्रशासन (एफडीए)सँग अनुमति माग्ने बताएको छ।
‘बालबालिकामा कोभिड-१९ विरुद्धको खोपको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यी तथ्याङ्क जतिसक्दो चाँडो पेश गर्न अमेरिकी एफडीए र विश्वव्यापी नियामकहरूसँग काम गरिरहेका छौँ’, मोडर्नाका सीईओ स्टेफेन बान्सेलले भने, ‘हामी विश्वास गर्छौँ कि यी पछिल्ला नतिजाहरू ६ वर्ष मुनिका बालबालिकाका अभिभावकको लागि शुभ-समाचार हो।’
यो अध्ययनको क्रममा अमेरिकामा प्रबल रुपमा देखिएको ओमिक्रोन भेरियन्टबाट हुने कोभिड-१९ संक्रमणलाई रोक्न भने यस खोप त्यति प्रभावकारी थिएन। ६ महिनादेखि १ वर्षसम्मका बालबालिकाका लागि यसको प्रभावकारिता ४३.७ प्रतिशत थियो। २ देखि ५ वर्ष सम्मका बालबालिकाको लागि यसको प्रभावकारिता ३७.५ प्रतिशत थियो।
मोडर्नाले ६ महिनामाथिका सबै बालबालिकाका लागि भाइरसको मूल स्ट्रेन र ओमिक्रोन भेरियन्ट लक्षित बुस्टर डोजको सम्भाव्यता मूल्याङ्कन गर्ने तयारी गरिरहेको बताएको छ।
यो तथ्याङ्क ६ महिनादेखि ५ वर्षसम्मका ६ हजार ९०० बालबालिकाको समूहमा गरिएको अध्ययनमा आधारित छ। उनीहरुमा खोपको अधिकांश प्रतिकूल प्रतिक्रियाहरू हल्का वा मध्यम खालको देखिएको बताइएको छ। दोस्रो डोजपछि यसको प्रतिकूल प्रतिक्रियाहरू धेरै पटक देखिएका थिए। सो परीक्षणमा कसैको पनि मृत्यु नभएको तथा मायोकार्डाइटिस वा पेरिकार्डाइटिसको कुनै केस रिपोर्ट नगरिएको मोडर्नाले उल्लेख गरेको छ। मायोकार्डाइटिस मुटुको मांसपेशीको दुखाई हो भने पेरिकार्डाइटिस मुटुको ‘लाइनिङ’को दुखाई हो।
मोडर्नाले ६ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कम्पनीको कोभिड-१९ खोपको आपतकालीन प्रयोगको स्वीकृति दिन एफडीएमा प्रकृया सुरु गरेको घोषणा गरेको छ। सो उमेरका बालबालिकालाई खोपको ५०-माइक्रोग्राम भर्सनका दुई डोजहरू दिइनेछ। मोडर्नाले १२ देखि १७ वर्षका बालबालिकाका लागि तयार खोपको थप फलो-अप डाटा पनि एफडीएलाई उपलब्ध गराएको बताएको छ। यो उमेरका बालबालिकालाई खोपको १००-माइक्रोग्राम भर्सनको दुई डोजहरू दिइनेछ।
गत महिना एफडीएले फाइजर/बायोएनटेकको ५ वर्षमुनिका बालबालिकाको लागि तयार कोभिड-१९ खोपबारे विचार गर्न आफ्नो खोप सल्लाहकारको बैठक स्थगित गरेको थियो। उसले तेस्रो डोजबारे थप डाटा पनि मागेको थियो। एफडीएले मागेका ति डाटा अप्रिलको सुरुतिर तयार हुने आशा गरिएको कम्पनीहरुले बताएका छन्।