कतार विश्वकप २०२२ का लागि छनोट हुन युरो कप विजेतासमेत रहेको इटली असफल भएको छ। गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियासँग पराजय ब्यहोरेसँगै इटली विश्वकपमा छनोट हुने होडबाट बाहिरिएको हो।
इटलीको पाल्मेरास्थित रेन्जो बारबेरा स्टेडियममा गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियाले इटलीलाई हराउँदै आफ्नो विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ। गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई जित दिलाउन इन्ज्युरी समयमा अलेक्सेन्डर ट्राजकोभ्स्कीले निर्णायक गोल गरे। उनको गोलसँग म्यासेडोनियाका बेन्चका खेलाडीले 'वाइल्ड' सेलिब्रेसन गरेका थिए भने इटलीका खेलाडी र अफिसियलहरुले घुडा टेकेका थिए। यो सँगै इटली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो। आठ महिना अघि मात्र इटलीले यूईएफए युरो कप जित्दै ट्रफी उचालेको थियो।
गएराति नै सम्पन्न अन्य खेलहरुमा पोर्चुगलले टर्कीलाई ३-१ गोलअन्तरले हराउँदा स्वीडेनले चेक रिपब्लिकलाई १-० गोलअन्तरले हरायो। त्यस्तै अस्ट्रिया वेल्ससँग २-१ गोलअन्तरले पराजित भयो।