काठमाडौं : चश्मा कसैको दर्शन बन्न सक्छ? जीवनमा मानिसले चश्मा फेरेसँगै के उसको दर्शन पनि फेरिन्छ? यही प्रश्न लिएर नेपथ्यबाट निस्किन्छिन् पारिजात।
हातमा पुस्तक, आँखामा कालो चश्माको फ्रेम, सेतो कुर्ता लगाएकी पारिजात शिरीषको रूखमुनि जान्छिन्। हातमा फूल लिएर सुगन्ध लिन्छिन्। अनि पछ्यौरीको फेरोले चश्मा सफा गर्छिन्।
‘दर्शन एक चश्मा हो। भन्छन् सत्यका अनेक आयामहरू हुन्छन्। हरेक वस्तु र यथार्थलाई मान्छेले एक कोणबाट अनुभव गर्ने न हो, सत्य त सर्वोपरी छ। सायद मैले प्रारम्भिक दर्शनमा अंगालेको शुन्यताको दर्शन यही हो। नजानी मान्छेले जीवनमा कति चश्मा फेर्छन्?' पारिजातको भूमिका निर्वाह गरिरहेकी जेनी सुनुवार रंगमञ्च अघि बसेका दर्शकहरु प्रति लक्षित गर्दै प्रश्न गर्छिन्।
थिएटर मल कीर्तिपुरमा चलिरहेको पारिजातको उपन्यास शिरिषको फूलमाथिको नाटकको फरक दृश्य हो यो।
नाटकका मुख्य पात्र सुयोगवीर (सञ्जय विश्वकर्मा) दोस्रो विश्वयुद्ध ताकाका सिपाही हुन्छन्। सुयोगवीर पितृसत्तात्मक र यौनिक मनोवृत्तिलाई प्रतिनिधित्व गर्ने पात्र हुन्। जसले दोस्रो विश्व युद्धमा धेरै महिलामाथि शोषण गरे। सधैँ महिलालाई यौनिक आँखाबाट हेरे। तर प्रेम भने कसैलाई गरेनन्।
सकमबरी (समृद्धि नेपाल) सेतो सारीमा सजिएकी छिन्। आँखामाथि कालो फ्रेमको चस्मा लगाउँदै रंगमञ्चमा देखिएकी उनी फूल भनेपछि हुरूक्कै हुन्छिन। पुस्तक पढ्नु, चुरोट तान्नु उनको दैनिकीसरह हो।
कसैको प्रेममा नपरेको सुयोगवीर यसपटक सकमबरीको प्रेममा पर्छन्। तर सकमबरीको भने पुरूषप्रति फरक मत हुन्छ। सुयोगवीरले भमरासँग लाप्पा खेल्नुलाई लडाइँ नभई प्रेम हो भन्छ। तर सकमबरी फूलले आफ्नो इच्छाअनुसार झर्नु पाउनुपर्ने र झर्न भमराको डसाइ आवश्यक नहुने तर्क गर्छिन्। बरीमा नारीवादी चेतना झिल्का सुनिन्छ।
सुयोगवीर र सकमबरीबिचको अन्तरद्वन्द्व वरिपरी नै घुमेको छ नाटक 'शिरीषको फूल'। नाटकमा प्रयोग भएका शब्दहरू उपन्यासकै छन्। शिरीषको फूल, रक्सी र चुरोट उपन्यासमा झै बारम्बार दोहोरिन्छ। नाटक हेर्दा उपन्यास 'शिरीषको फूल' का हरेक पात्रहरू जीवित भइदिन्छन्। उपन्यासमा गौण रहेकी पारिजात नाटकको सुरूवातमै देखिन्छन्। पारिजातको उपस्थिति दर्शकका लागि नयाँ लाग्न सक्छ।
त्यसैगरि, सञ्जयले सुयोगवीरको पात्रलाई न्याय दिएका छन्। उपन्यासको सुयोगवीर र उनमा फरक भेटाउन मुस्किल पर्छ। समृद्धिको अभिनय पनि प्रंशसायोग्य छ। उपन्यासकी सकमबरीभन्दा नाटककी सकमबरी बलियो देखिन्छे। उनको हिँड्ने तरिकादेखि बोल्ने शैली र हेराईले दर्शकको ध्यान तान्छ। उपन्यासको सकमबरी पात्रलाई जिवन्त देखाउन समृद्धिले कुनै कसर छाडेकी छैनन्। नाटककी बरीलाई हेरिरहँदा उपन्यासकी बरीलाई बिर्साइदिन्छ। उनको गम्भिरता, चिन्तन र विद्रोही स्वभावले अहिलेका महिलाहरूलाई समेत प्रतिनिधित्व गर्छ।
सुयोगवीरले शोषण गरेका महिलाहरूलाई नाटकमा स्थान पाएका छन्। उपन्यासमा युद्धमा शोषण गरेका महिलाहरुलाई आवाज दिइएको छैन। तर नाटकले भने पीडित पात्रहरूले आवाज उठाएको हो। सुयोगवीरलाई बेलाबेला उनीहरू जिस्काउँछन्। जुन नाटकमा देखिएको नयाँ दृश्य हो।
नाटकका प्राविधिक पक्षहरू पनि बलिया छन्। ब्याकग्राउन्डमा बज्ने गीत र कलाकारको अभियनले रंगमञ्चलाई संगीतमय बनाइदिन्छ। रेडियो नेपालको ट्युन, हिटलरको मृत्यु हुँदा आउने अंग्रेजी समाचारले नाटकलाई जीवन्त बनाउन सशक्त भूमिका खेलेको छ।
उपन्यासमा बरीको मृत्यु शब्दमार्फत थाहा हुन्छ। तर नाटकमा भने सकमबरीको मृत्युलाई बिम्बात्मक शैलीमा प्रस्तुत गरिएको छ। सुयोगवीर सकमबरीको प्रेमले भित्रभित्रै गलिरहेका हुन्छन्। एकदिन सुयोगवीरले सकमबरीको ओठमा चुम्बन गर्छन् र, माया पोखिदिन्छन्। अनि मञ्चमा सन्नाटा छाउँछ। बरी प्रतिक्रिया नदिई कोठातिर जान्छिन्। झरेका शिरीषका फूलहरू, ढलेका फूलदानी र गमलाले सकमबरीको मृत्यु भएको संकेत गर्छ। अन्त्यमा, पारिजातले मृत्युसम्बन्धी केही कुराहरू बोलेसँगै नाटकले बिट मार्छ।
उपन्यासका सबै दृश्य नाटकमा देखाउन सकिन्न। तर केही दृश्यहरु भएको भए उपन्यासलाई पनि न्याय हुन्थ्यो। केही ठाउँमा टिमले नाटक सकाउन हतारो गरेको देखिन्छ। उपन्यासमा बरी बिरामी भएपछि सुयोगवीरले सोचेको मनस्थितीलाई चित्रण गरेको छ। तर नाटकमा बरीलाई चुम्बन गरेपछिको सुयोगवीरको मनोदशालाई देखाइएको छैन। नाटकमा यी कुराहरू ‘मिस’ हुन्छन्।
नाटकमा मोन्टाजमार्फत चुम्बनपछि बरीको अवस्थालाई देखाइएको छ। तर के उक्त दृश्यले उपन्यासमा गौण बनेको बरीको मृत्युको रहस्य पहलाउन सक्यो त? यो अडियन्सकै चिन्तनमा भर पर्छ।
पारिजातको उपन्यासका पात्रहरूलाई नजिकबाट चिन्नु छ भने एकपटक नाटक 'शिरीषको फूल' हेर्नेपर्छ। नाटक 'शिरीषको फूल' चैत १२ गतेसम्म थियटर मल-किर्तीपुर रङ्गमञ्चमा मञ्चन हुनेछ।