
काठमाडौं : श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठको टोलीले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित चुनिखेलमा डेरा गरी बस्ने २१ वर्षीय भक्तबहादुर थापालाई नियन्त्रणमा लिएको हो।
बिहीवार राति उदयपुरको कटारी घर भएकी २४ वर्षीय श्रीमती लक्ष्मी तामाङ (थापा) लाई धारिलो हतियार (मासु काट्न प्रयोग हुने दाउ) ले घाटीको अगाडि भागमा प्रहार गरी हत्या गरेर फरार भएको प्रहरीको दावी छ। घरायसी विवादका कारण उनले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
घटनास्थल नजिकैबाट थापालाई धारिलो हतियार दाउसहित नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले बताए।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यान सम्बन्धी कसूर अपराधमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।