PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सूर्यमा ग्रहण लाग्छ, कलममा लाग्दैन : माधवकुमार नेपाल 



पहिलोपोस्ट

सूर्यमा ग्रहण लाग्छ, कलममा लाग्दैन : माधवकुमार नेपाल 
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले भ्रम फैलाउन थालेको बताएका छन्। उनले आफ्ना पार्टीका मन्त्रीहरु प्रेमबहादुर आले र किसान श्रेष्ठ एमालेमा प्रवेश गर्न लागेको भनेर एमालेले हल्ला चलाएको दाबी गरेका छन्। तर, त्यो भ्रम अहिले चिरिसकेको नेपालको भनाइ छ।

'प्रेम आले र किसान श्रेष्ठ बालकोटमा गए भनेर हल्ला फिजाइएको थियो। कुप्रचार गर्न खप्पिस भएकाहरुले हल्ला फिजाउँछन्,'उनले भने।

अखिल नेपाल महिला संघ समाजवादीको प्रशिक्षण कार्यक्रममा नेपालले आफ्नो पार्टीबाट एमालेमा जानेको संख्या नभएको दाबी गरे। एमाले परित्याग गर्ने लहर चलेको नेपालको भनाइ छ। 'पार्टी प्रवेशको महाअभियान चलेको छ। कहिले कुनै जिल्ला कहिले कुन जिल्ला,'नेपालले भने। 

नेपालले कुनै पनि पार्टीले ६ महिनाको अवधिमा एकीकृत समाजवादीजस्तो ठुलो आकार ग्रहण गर्न नसकेको जिकिर गरे। उनले देशव्यापी रुपमा पार्टीको संगठन विस्तार भएको बताए।

'६ महिनाको अवधिमा कुनै पनि पार्टीले यत्रो ठुलो आकार ग्रहण गर्न सकेको छैन। अधिकांश पालिकामा पार्टी कमिटी निर्माण भएको अवस्था छ। अधिकांश वडाहरुमा पनि कमिटी गठन भइसकेको अवस्था छ। कतिवटा पार्टीको होला हिसाब गरेर भन्नुस त। हाम्रो पार्टीमा त्यो क्षमता छ खुबी छ,'नेपालले भने।

नेपालले अरुको अपमान नगर्ने भावना कार्यकर्तामा प्रसार गरिरहेको बताएका छन्। 'हामी तुच्छताको तहमा जान चाहदैनौँ। सभ्य कार्यकर्ता पंक्ति तयार गर्न चाहन्छौँ। त्यसैले हामी केपी ओलीको पार्टी भन्दा फरक हुन चाहन्छौँ,'उनले भने।

कसैले नयाँ  र कसैले पुरानै पार्टी भएको टिप्पणी गर्ने गरेको भन्दै नेपालले एकीकृत समाजवादी क्रान्तिकारी पार्टी भएको बताए। उनले क्रान्तिकारी आन्दोलनको निरन्तरता आफ्नो पार्टी भएको दाबी गरे।

'पार्टीलाई दक्षिणपन्थी भासमा भासिन खोज्ने षडयन्त्रलाई विफल पार्न जन्मिएको पार्टी हो। पुरानो इतिहास हामीसँग छ,'उनले भने।

२०३२ सालमा कोर्डिनेसन केन्द्र बनाउने ५ जना मध्य ३ जना आफ्नो पक्षमा रहेको नेपालले बताए। मूल दुई नेता मध्य आफू एक भएको उनको भनाइ छ। झलनाथ खनाल र मुकुन्द न्यौपाने कोर्डिनेसन केन्द्र गठन गर्ने नेता भएको र उनीहरु आफ्नो पार्टीमा भएको उनले प्रशिक्षणका क्रममा भने। उनले त्यसमध्यका अर्का नेता अमृत बोहोरका बोली एमालेमा गायब भएको बताए।

नेपालले आफ्नो पार्टीको भविष्य राम्रो भएको बताएका छन्। तर, आफ्ना विरोधीले आफ्नो पार्टीलाई पार्टी नै होइन भन्ने गरेको प्रति लक्षित गर्दै उनले भने, 'केपी ओलीसँग सुरुमै लडाइ। राष्ट्रिय सभाको चुनावमा हाम्रो उम्मेद्वारले कलमको विजय गराए। कलम त सबैले सम्झछन्। बरु सूर्यमा ग्रहण लाग्छ कलममा होइन। कलम ले नै जागरण पैदा गर्ने गर्छ।'

कतिपयले आफूलाई सूर्य नहुँदा गार्‍हो पर्‍यो भन्ने गरेको भन्दै उनले पार्टीमा प्रचार नपुगेको बताए। उनले चुनाव चिह्न ठुलो नभएको भन्दै २०६४ सालमा मा‌ओवादीको चुनाव चिह्नले चुनाव जितेको उदाहरण प्रस्तुत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell