PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौंमा हिमाल पारीका पाहुना : चासो ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी



विधुर ढकाल

काठमाडौंमा हिमाल पारीका पाहुना : चासो ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी
तस्विर : परराष्ट्र मन्त्रालय

काठमाडौं : चिनियाँ स्टेट काउन्सलर एवम् विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि आज काठमाडौं ओर्लिएका छन्। दक्षिण एसियाली देशको भ्रमणमा निस्किएका उनी चौथो गन्तव्यको रुपमा नेपाल ओर्लिएका हुन्। पाकिस्तान हुँदै अफगानिस्ता पुगेर बिहीवार साँझ नयाँ दिल्ली पुगेका थिए वाङ।

उनको भ्रमण नेपाललमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन भएको एक महिनाको अन्तरालमा भएकोले सबैले चासो व्क्तय गरेका छन्।

उनले आज साँझ नै काठमाडौं स्थित चिनियाँ दूतावासका अधिकारीहरुसँग छलफल गर्दैछन्। नेपालको वर्तमान अवस्थाका बारेमा उनले ब्रिफिङ लिने दूतावास स्रोतले जनाएको छ। विदेश मन्त्री वाङले शनिवार बिहानदेखि राजनीतिक भेटवार्तालाई अगाडि बढाउने छन्। शनिवार दुई देशबिच द्विपक्षीय वार्ता हुनेछ। त्यस्तै, बिहान परराष्ट्र मन्त्री नारायण खड्का र समकक्षी वाङबिच भेट हुने कार्याक्रम रहेको छ। शनिवार नै प्रधानमन्त्री शेरवाहादुर देउवासँग विदेशमन्त्री वाङले शिष्टाचार भेटवार्ता गर्नेछन्।

आइतवार बिहान मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, उनले आइतवार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्ने कार्यक्रम छ। मन्त्री वाङ आइतवार नै काठमाडौंबाट फर्किनेछन्।

द्विपक्षीय वार्ताका क्रममा प्राविधिक तथा आर्थिक सहायता सम्बन्धी १० वटासम्म समझदारीपत्रमा हस्ताक्षर हुनसक्ने परराष्ट्रका एक अधिकारीले बताए। जसमध्ये रातामाटे-रसुवागढी-केरुङ ट्रान्समिसन लाइन, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा घोषणा भएको चिनियाँ अनुदान कार्यान्वयन सम्बन्धी सम्झौता, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माण सम्बन्धि समझदारीपत्र, भरतपुर क्यान्सर अस्पताल सहयोग सम्बन्धि समझदारीपत्र लगायतका सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको छ।

चिनियाँ विदेश मन्त्री वाङ काठमाडौं बाहिरसमेत जानसक्ने स्रोतले बतायो।

सिको सन्देश : हामी पछि हटेका छैनौँ

चिनियाँ विदेश मन्त्रीको यस भ्रमणले नेपालबाट चीन पछाडि नहटेको सन्देश दिन खोजेको देखिन्छ। यद्यपि, यस भ्रमणका क्रममा दुई देशबिचका समान चासो र मुद्दाका विषयमा समेत छलफल हुने परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन्।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल-चीन सम्बन्धलाई ‘रणनीतिक’ सम्बन्धमा परिष्कृत गरिएको थियो। त्यस्तै, सोही भ्रमणका क्रममा ‘ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’को चर्चासमेत उनले गरेका थिए।

अर्को बिर्सन नहुने कुरा चिनियाँ राष्ट्रपति सिले दिएको अर्को सन्देश थियो- ‘चिनियाँ इन्ट्रेस्टलाई आँच पुग्ने काम हुन्छ भने हड्डी चुरचुर हुनेछ’। ‘साइलेन्स डिप्लोमेसी’को प्रयोग गर्ने चीनले सितिमिति प्रतिक्रियात्मक वक्तव्य दिँदैन। तर, सिको नेपाल भ्रमणका क्रममा आएको उक्त अभिव्यक्तिले नेपालमा चिनियाँ चासोलाई स्पष्ट पारेको थियो। सोही अनुरुप चिनियाँ विदेश मन्त्री वाङको नेपाल भ्रमण पनि नेपालबाट चीन पछाडि हटेको छैन भन्ने सन्देश स्थापित गर्ने उद्देश्यले भएको देखिन्छ।

अर्को चासो भनेको बीआरआई परियोजना कार्यान्वयनको विषय पनि हो। विदेशमन्त्री वाङको भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजनाको कार्यान्वयन, नेपाल-चीन व्यापार तथा पारवहान सम्झौताको कार्यान्वयन, नेपाल-चीन सीमा नाका सहज सञ्चालन लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले बतायो।

नेपाल-चीनबिच बीआरआई फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको ५७ महिना बितेको छ। यसबिचमा बीआरआई परियोजना कार्यान्वयनमा ठोस प्रगति भएको छैन। दुई देशबिच बीआरआई परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर नै हुनसकेको छैन।

नेपालले बीआरआई परियोजना अन्तर्गत ३५ वटा परियोजनाको सूची पठाएको थियो। पछि चिनियाँ पक्षले परियोजना संख्यालाई एक अंकमा झार्न अनुरोध गरेपछि नौ वटा परियोजनाको सूची पठाएको थियो। तर, अहिलेसम्म उक्त सूची फाइनल हुन सकेको छैन।

बीआरआई अन्तर्गत नेपालले पठाएका सूचीमा काठमाडौं-रसुवागढी सडक स्तरोन्नति, काठमाडौं-रसुवागढी रेल परियोजना, गल्छी-रसुवागढी ४०० केभी प्रसारण लाइन, किमाथांका-हिले सडक निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय, तमोर जलविद्युत् आयोजना, कोशी-गण्डकी-कर्णाली करिडोर, फुकोट जलविद्युत् परियोजना, दीपालय-चीन सडक निर्माण लगायत छन्।

चिनियाँ चसो नेपालको उर्जा विकास

चिनियाँ राष्ट्रपति सिको २०१९ को भ्रमणका क्रममा नेपाललाई रणनीतिक साझेदार बनाएका राष्ट्रपति सिले त्यतिबेला ट्रान्स हिमालय मल्टिडाइमेसनल कनेक्टिभिटी नेटवर्कलाई प्राथमिकतामा राखेका थिए। बीआरआईको भिजन पनि कनेक्टिभिटीसँग सम्बन्धित हो।

सोही अनुसार चीनले नेपाललाई ‘इलेक्ट्रिसिटी कनेक्टिभिटी’लाई पनि वाङको भ्रमणका क्रममा प्राथमिकतामा राखेको छ। चीनले ऊर्जा क्षेत्रमा साझेदारीका लागि संयन्त्रको स्थापना, विद्युत प्राधिकरणको क्षमता अभिवृद्धिका साथै एउटा पाइलट प्रोजेक्ट सञ्चालनमा चासो राखेको छ। उसले ऊर्जा साझेदारीमा विशेष चासो राख्नुको कारण ‘क्लिन इनर्जी’ प्रयोगमा चीनको अन्तर्राष्ट्रिय प्रतिवद्धता पनि हो।

‘पछिल्लो समय चीनले तिब्बतको विकासलाई प्राथमिकतामा राखेको छ। तिब्बतमा सफा ऊर्जाको आवश्यकतालाई ध्यानमा राखेर तिब्बती बजारको ऊर्जा मागलाई नेपाली उत्पादनबाट पूरा गर्ने चीनको लक्ष्य देखिन्छ,’ परराष्ट्रका एक अधिकारी भन्छन्, ‘सोही अनुरुप चीनले ऊर्जा विकासलाई महत्त्व दिएको देखिन्छ।’

बीआरआई परियोजना अन्तर्गत ‘सिनो-नेप्लिज पावर ग्रिड’ ट्रान्स हिमालय मल्टिडाइमेसनल कनेक्टिभिटी नेटवर्कको एउटा हिस्साका रुपमा चीनले लिएको छ। सोही अनुरुप नेपालले पनि योजना प्रस्ताव गरेको छ। नेपालले प्रस्ताव गरेको परियोजनामा गल्छी-रसुवागढी ४०० केभी प्रसारण लाइन उल्लेख छ। चीनले यसलाई प्राथमिकतामा राखेको छ।

विदेशमन्त्री वाङको भ्रमणको क्रममा तमोर जलाशययुक्त आयोजनाको विषयमा पनि छलफल हुनेछ। राष्ट्रपति सिको नेपाल भ्रमणका क्रममा लगानी बोर्ड र पावर चाइना कर्पोरेसन लिमिटेडका बिचमा आयोजना निर्माण सम्झौता भएको थियो। तर, यस परियोजना पनि कार्यान्वयनमा आएको छैन। यसलाई पनि नेपालले बीआरआईमा राखिएको थियो। यस परियोजनालाई प्राथमिकतामा राख्‍ने बिहीवारमात्र त्यस क्षेत्रका सांसदहरुले परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराएका थिए।

तेह्रथुमका सांसद तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, ताप्लेजुङका योगेश भट्टराई, तेह्रथुमका विजय सुब्बा, पाँचथरका बसन्तकुमार नेम्वाङ र धनकुटाका सांसद राजेन्द्र राईले बिहीवार परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेर वाङसँग हुने द्विपक्षीय वार्तामा तमोर परियोजनालाई प्राथमिकतामा राख्‍न ध्यानाकर्षण गराएका थिए।

तमोर नदीमा २ सय ५ मिटर अग्लो बाँध निर्माण गरी ७६३ मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रारम्भीक अध्ययनले देखाएको छ। २०८२ सालभित्र आयोजना निर्माण सम्पन्न गर्ने उद्देश्य सरकारले त्यसलाई प्रस्तावमा समेटेको थियो। तर, चिनियाँ कम्पनीसँग सम्झौता भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ।

त्यस्तै, विदेशमन्त्री वाङको नेपाल भ्रमण अगाडि चिनियाँ पक्षले ऊर्जा क्षेत्रमा थप केही परियोजना छनोट गरी नेपाललाई पठाएको स्रोतले बतायो। त्यस विषयमा पनि मन्त्रालयले छलफल गरिरहेको छ।

पूर्वाधार मन्त्रालयको एजेण्डा रेलमार्गको सम्भाव्यता अध्ययन

त्यस्तै, विदेशमन्त्री वाङको भ्रमणको क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेलमार्गको सम्भाव्यता अध्ययनका विषयमा प्रस्ताव तयार पारेको छ। काठमाडौं-केरुङ रेलमार्गलाई पनि नेपालले बीआरआई परियोजना अन्तर्गत समावेश गरेको छ। यस विषयमा मन्त्रालयले प्रस्ताव तयार पारिरहेको स्रोतले जनायो। मन्त्रालयले चीनलाई सम्भाव्यता अध्ययन चिनियाँ पक्षले आफ्नै लगानीमा गरोस् भन्ने प्रस्ताव राख्दैछ। सम्भाव्यता अध्ययनमा चिनियाँ स्टेट रेलवे कर्पोरेसन सक्रिय छ।

त्यस्तै, मन्त्रालयले नेपालले छनोट गरेको किमाथांका-हिले सडक निर्माण, काठमाडौं-रसुवागढी सडक स्तरोन्नतिको विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ। वाङको नेपाल भ्रमणका क्रममा बन्द अवस्थामा रहेको तातोपानी तथा रसुवागढी नाकालाई पूर्ववत अवस्थामा सञ्चालनको विषयमा पनि नेपालले ऐजेण्डा बनाएको छ।

कोभिड-१९ महामारीका कारण यी नाका सीमित मात्रामा मात्र सञ्चालनमा छन्।

वाङसँगको छलफलका क्रममा चीनसँग पारवहन सम्झौता कार्यान्वयनका विषयमा समेत छलफल हुने स्रोतले जनायो। सन् २०१६ मा हस्ताक्षर भएको सम्झौताको प्रोटोकलमा सन् २०१९ मा हस्ताक्षर भएको थियो। प्रोटोकल अनुसार नेपालले चीनका चारवटा समुद्री बन्दरगाह र तीन वटा सुक्खा बन्दरगाहमा पहुँच पाएको छ। तर, व्यवहारमा त्यसको कार्यान्वयन भएको छैन।

यस विषयमा पनि वाङको भ्रमणको क्रममा छलफल हुने एजेन्डा रहेको छ। त्यस्तै, नेपालले महामारीका कारण नेपालमा रोकिएका चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुको चीन प्रवेशका विषयमा समेत छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell