
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबिच भेटवार्ता भएको छ। शुक्रबार बिहान बोहोराटारमा वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको भेला चल्दै गर्दा दुई नेताबीच भेटवार्ता भएको हो।
१४ औं महाधिवेशन पछि दुई नेताबिच दोस्रो भेट भएको हो।
के भयो कुराकानी?
पछिल्लोपटक सभापति देउवाले एकपक्षीय तवरले तरुण दल र नेविसंघको तदर्थ समितिको अध्यक्ष मनोनीत गरेको भन्दै शेखर पक्षले असन्तुष्टि जनाउँदै आएको छ। बुधवारमात्रै देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए।
शेखरसँग परामर्शपछि मात्रै भ्रातृ संगठनको नेतृत्व तोक्ने वचन देउवाले दिएपछि बुधबार शेखर पक्ष छलफलमा जुटेको थियो। सोही दिन देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्ति गरेपछि बढ्दो असन्तुष्टिबारे छलफल गर्न दुई नेताबिच आज भेटवार्ता भएको बताइएको छ।
आधा घण्टाको छलफलमा भ्रातृ संगठनदेखि पार्टीका विभिन्न तहमा नेताहरुको सुझाव समेटेर अघि बढ्नुपर्ने सुझाव डा कोइरालाले दिएको उनको सचिवालयले जनायो।
महत्त्वपूर्ण मुद्दामा सघाए पनि देउवा एकलौटी रुपमा बढ्न खोजेको शेखर पक्षको आरोप छ।