PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रोहितको कीर्तिमानी शतकको बावजुत पीएनजीसँग नेपालको साँघुरो हार



पहिलोपोस्ट

रोहितको कीर्तिमानी शतकको बावजुत पीएनजीसँग नेपालको साँघुरो हार
तस्बीर ; क्यान

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीसँग साँघुरो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ६ रनको साँघुरो अन्तरले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको शतकीय पारीको बावजुत २८६ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीका लागि चार्ल्स अमिनीले सर्वाधिक ७७ रन बनाउँदा कप्तान असद भालाले ६० रन बनाए। त्यस्तै नोर्मन भनुआले ४७, टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रन जोडे। त्यस्तै जेसन किला १३ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा सन्दीप लामिछाने र पवन सर्राफले समान १ विकेट लिए।

ब्याटिङमा उत्रिएको नेपालका लागि रोहितकुमार पौडेलले कीर्तिमानी पारी खेले पनि टिमलाई जित दिलाउन भने सकेनन्। उनलेले १०६ बलमा ७ चौका र ४ छक्काको सहायतामा १ सय २६ रन बनाए। यसक्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानलाई पछिपार्दै एकदिवसीय क्रिकेटमा नेपाली टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी त बने नै एउटै पारीमा सर्वाधिक रन बनाउने खेलाडी समेत बने। उनीपछि पारस खड्काले एउटै पारीमा १ सय १५ रन बनाएका छन्।

उनीबाहेक आरिफ शेखले ३४ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३२ रन, भीम सार्कीले १७ रन तथा दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए। त्यस्तै सोमपाल कामी र कमलसिंह ऐरी समान १८ रनमा अविजित रहे। अन्तिम ओभरमा १० रन चाहिएकोमा बाउन्ड्री प्रहार गर्न नसक्दा ३ मात्र जोडेको नेपाल साँघुरो अन्तरले पराजित हुन पुग्यो।

पीएनजीका लागि नोर्मन भउनाले सर्वाधिक ३ विकेट लिँदा चार्ल्स अमिनी र असद भालाले समान २ विकेट लिए। त्यस्तै नोसैन पोकनाले १ विकेट लिए।

भोलि फेरि नेपाल र पीएनजी दोस्रो एकदिवसीय सिरिजमा टीयू मैदानमा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell