काठमाडौं : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबिच तालमेल आवश्यक नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले तालमेल आवश्यक नरहेको बताएका हुन्।
अहिले कांग्रेसभित्र आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनका अन्य दलसँग तालमेल गर्ने विषयमा सहमति जुटेको छैन। उनले देशभर अहिले नेपाली कांग्रेसको ‘पोजिसन’ राम्रो रहेको बताए।
‘पहिले पार्टीभित्र गठबन्धन होस्। त्यसपछिमात्रै मतभार हेरेर तालमेल हुनुपर्छ। नत्र तालमेल काम छैन,’ पुनले भने।
२०७४ सालमा पनि गठबन्धन गरेको स्मरण गराउँदै उनले त्यसबाट आएको परिणामबाट सिक्नुपर्ने बताए।
‘मतभारको आधारमा गर्ने हो भने ठीकै होला। नत्र सोलोडोलो तालमेलको आवश्यकता छैन,’ उनले भने।