PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

चार बच्चाकी आमा म्यादी प्रहरी बन्न लाइनमा



निशा गुरुङ

चार बच्चाकी आमा म्यादी प्रहरी बन्न लाइनमा

हेटौँडाः म्यादी प्रहरीमा आवेदन दिने भीड व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय हेटौँडालाई सकस परेको छ। भीड थाम्न नसकेर कार्यालयको आडमा रहेको खाली जग्गामा लाइन व्यवस्थापन गरिएको छ।

स्थानीय निर्वाचनका लागि सरकारले म्यादी प्रहरीमा आवेदन खोलेसँगै युवा युवतीमात्र होइन, काखमा बच्चा भएकाहरु पनि लाइनमा बसेका छन्। चर्को घाममा पनि बच्चाका आमादेखि वैदेशिक रोजगारीबाट फर्किएका र उच्च शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थी आवेदनको लाइनमा छन्।

हेटौँडा ११ स्थित भैरवडाँडाकी झम्काकुमारी पुडासैनीले बिहान ६ बजेदेखि लाइनमा बसेको बताइन्। उमेरले ३५ वर्ष लागेकी उनी ४ सन्तानकी आमा हुन्। छोटो समयमा आम्दानीसँगै देशका लागि सेवा गर्ने अवसर भएकाले दरखास्त दिन आएकी बताइन्।

झम्काजस्तै उर्मिला आचार्य पनि दरखास्त दिन लाइनमा थिइन। हेटौँडा १८ हटिया घर भएकी उनी पनि बिहानैदेखि लाइनमा थिइन्। ३ सन्तानकी आमा उर्मिला पनि आर्थिक अवस्था कमजोर भएकाले म्यादी प्रहरीमा आवेदन दिन आएको बताउँछिन्।

३५ वर्षीय मैया अधिकारी पनि दरखास्तको लाइनमा भेटिइन्। मैया पनि ३ सन्तानकी आमा हुन्। ५ कक्षा मात्रै पढेकी मैया पनि सेवा र आय दुबैको लोभले आवेदन दिक आएको बताउँछिन्।

हेटौँडा ११ की सरिता लामाले एमए पास गरिकी छिन्। जागिर नपाउँदा म्यादी प्रहरीमा निवेदन दिन उनी पनि आएकी छिन्। जागिर कतै पनि नपाएकाले आवेदन दिन आएको उनी बताउँछिन्।

दरखास्तको लाइनमा बसेको उनको दोस्रो दिन थियो।

भीमफेदी गाउँपालिकाका श्यामबहादुर मगर पनि लाइनमै थिए। ५० वर्ष भइसकेको श्याम पनि केही आर्थिक लाभ हुने आशले दरखास्त दिन आएको बताउँछन्।

मकवानपुरका लागि १३ सय २२ जना म्यादी प्रहरीको कोटा तोकिएकोमा शुक्रबारसम्म तीन हजार ६९६ जनाले आवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

दैनिक ६ सयभन्दा बढी आवेदन दर्ता भइरहेका छन्। भीडले सडक समेत अवरुद्ध भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell