PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेसमा चुनावी त्रास: तालमेल गरे कांग्रेस आइको हालतमा पुगिने डर, नगरे सत्ता गुम्ने डर



नेत्र तामाङ

कांग्रेसमा चुनावी त्रास: तालमेल गरे कांग्रेस आइको हालतमा पुगिने डर, नगरे सत्ता गुम्ने डर

काठमाडौँ: स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु रणनीति बनाउन जुटेका छन्। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि चुनावी रणनीति तय गर्न केन्द्रीय समितिमा छलफल थालेको छ।

शुक्रबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिमा धेरैजसो केन्द्रीय सदस्यले गठबन्धनसँग तालमेल गरेर जाँदा हुने फाइदा र बेफाइदाको समीक्षा गरेका छन्। केन्द्रीय समितिमा ६ प्रदेशका प्रदेश सभापतिहरुले समेत धारणा राखे। झन्डै तीन घण्टा चलेको छलफलमा संस्थापन पक्ष गठबन्धनको पक्षमा देखिए भने संस्थापनइतरका नेताहरु तलमेलको विपक्षमा उभिए।

भारतीय कांग्रेसको हालत हुने डर

भारतमा कुनै बेला सत्ताको राज गरेको भारतीय कांग्रेस अहिले खुम्चिएको छ। लोक सभामा ५४५ सिट रहेकोमा ५२ सिटमा खुम्चेको भारतीय कांग्रेसको क्रेज ओरालो लाग्ने क्रम जारी छ। उसो त नेपाली कांग्रेस पनि अघिल्लो निर्वाचनमा नराम्ररी हार व्यहोरेको पार्टी हो। यसपटक जसरी पनि पहिलो बन्ने दाउका साथ कांग्रेस चुनावी रणनीति तय गर्न जुटेको छ। यसबारे केन्द्रीय समितिबाटै निर्णय लिने गरी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल थालेका छन्।

गठबन्धन सहयात्री नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) कांग्रेससँग तालमेल गरेर चुनावमा नेकपा (एमाले) सँग भिड्ने योजनामा देखिन्छन्। गठबन्धनका सहयोगी दलको चित्त नदुख्ने गरी तीनै तहमा तालमेल गरी जानुपर्ने मनासयमा देखिन्छन् सभापति देउवा पनि।

तर नेकपा फुटेको अवसरमा कांग्रेसलाई अवसर नै अवसर हुने स्वर बढ्दै आएको छ कांग्रेसमा। यसरी आवाज बुलन्द पार्नेमा बढी त संस्थापनइतरकै नेताहरु छन्। गठबन्धन गर्ने हो भने मोडालिटी प्रस्ट बनाउनुपर्ने धारणा आफूले राखेको कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले बताए।

'गठबन्धन गर्ने हो भने कुन मोडालिटीमा गर्ने हो क्लियर हुनुपर्‍यो,' केसीले पहिलोपोस्टसँग भने, 'पद्धतिलाई बलियो बनाउने हो कि के गर्ने कमिटमेन्ट आउनुपर्‍यो।'

यसका लागि पहिलो त पार्टीभित्रै मेल हुनुपर्ने केसीको भनाई छ। पार्टी सभापति देउवाले ६०/४० लाई मिलाउन नसकेसम्म यो सम्भव नहुने तर्कसमेत उनको रह्यो।

'निर्वाचनमा जाने भनेको त सिंगो पार्टी भएपछि मात्र ट्याकल गर्न सक्छ। कांग्रेसले नेतृत्व लिन सक्छ। खण्डित कांग्रेसले नेतृत्व लिन सक्दैन। पार्टीमा न्यायसंगत तरिकाले निर्णय हुनपर्‍यो,' केन्द्रीय समितिको निर्णयपछि केसीले भने।

चितवन कांग्रेसका नेतासमेत रहेका केन्द्रीय सदस्य दिनेश कोइरालाले अहिले बाम गठबन्धन फुटेको अवस्थामा तालमेल गर्न नहुने धारणा राखे। त्यसो त माओवादीले पटकपटक धोका दिएको स्मरण गराउँदै गल्ती स्वीकारे मात्र तालमेलबारे सोच्न सकिने तर्क गरे।

'माओवादीले धोका दिएको छ, त्यसैले चितवन कांग्रेसले माओवादीलाई भोट हाल्दैन,' केन्द्रीय समितिमा आफूले राखेको भनाई प्रस्तुत गर्दै कोइरालाले भने, 'धोका दिएको घटनालाई गल्ती स्वीकारे तालमेलबारे सोच्न सकिन्छ।'

केन्द्रबाट गठबन्धन हुन्छ भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनिसकेका छन् नि? सञ्चारकर्मीको प्रश्नमा कोइरालाको जवाफ थियो, 'केन्द्रीय नेताहरुले दम्भ नदेखाए हुन्छ।'

लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पनि तालमेल भए पहिले कांग्रेसभित्रै हुनुपर्ने बताए। 'पहिले पार्टीभित्र गठबन्धन होस्, त्यसपछिमात्रै मतभार हेरेर तालमेल हुनुपर्छ। नत्र तालमेल काम छैन,' पुनले भने।

अघिल्ला चुनावमा माओवादीले धोका दिएको घटना स्मरण गराउँदै पुनले कांग्रेसको पोजिसन अहिले धेरै राम्रो भएको बताए। 'काँग्रेसको पोजिसन अहिले पनि राम्रो छ। २०७४ मा पनि हामीले गठबन्धन गरेकै हो। रिजल्ट देखेकै हो,' उनले भने, 'मतभारको आधारमा गर्ने हो भने ठीकै होला। नत्र सोलोडोलो तालमेलको आवश्यकता छैन। कांग्रेस आई गठबन्धन गर्दै गर्दा कस्तो अवस्था पुग्यो सबैलाई थाहै छ।'

स्थानीय आवश्यकता अनुसार मात्रै गठबन्धन

बैठकमा अधिकांश केन्द्रीय सदस्य तथा नेताहरुले स्थानीय तहको आवश्यकता अनुसार तालमेल गरेर जानुपर्ने सुझाव पेश गरेका छन्। पार्टीलाई फाइदा हुने किसिमले स्थानीय मत हेरेर आवश्यकता अनुसार तालमेल गर्न नहुने केन्द्रीय सदस्य नैनसिंह महरको मत रह्यो।

त्यस्तै गरी प्रदेश १ सभापति उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पनि केन्द्रबाट गठबन्धन गर्न नहुनेमा जोड दिएका छन्। गठबन्धन गर्दा स्थानीय आवश्यकता अनुसार गर्नुपर्ने उनीहरूको जोड छ।

कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा कांग्रेस निल हुने धारणा राखे।

'माओवादीले जजसले जहाँ जितेको हो त्यो ठाउँ आफूसँगै राखेर एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ,' शाहीले भने, 'त्यसो गर्दा कर्णालीका धेरै जिल्लामा कांग्रेस निल हुने अवस्था आउँछ।'

सभापतिले निर्णय लाद्ने कुरा आउँदैन

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु उचित हुने विचार राखेको बताए।

महतले बैठकमा प्रदेशहरुबाट फरक-फरक ठाँउहरुबाट फरक फरक सुझाव आएको र छलफलपछि टुंगोमा पुगिने बताए। 'पार्टीलाई कसरी फाइदा हुन्छ? बढी भन्दा बढी सिट जित्ने कसरी भन्ने हो? त्यही अनुसार पार्टीले निर्णय गर्छ,' प्रवक्ता महतले भने।

प्रवक्ता महतले सभापति देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबर्जस्त निर्णय लाद्न खोजेको भनी गलत प्रचार गरिएको दाबी गरे। देउवाले पार्टीको आधिकारिक निकायहरुबाटै निर्णय गर्दै आएको उल्लेख गर्दै गठबन्धनका सम्बन्धमा पनि केन्द्रीय कमिटी बैठकले निर्णय बताए।

सभापतिले जबर्जस्त निर्णय लाद्न खोजेको भन्ने आरोपमा कुनै सत्यता नभएको उनको दाबी रह्यो।

'केन्द्रीय सभापतिले टिकट वितरणमा केन्द्रले लाद्ने भनेर गलत प्रचार भइरहेको छ। भर्खर केन्द्रीय समिति बस्दैछ। निर्णयका लागि, निर्णय नै भएको छैन, अनि लाद्ने कुरा हुन्छ? पार्टी सभापतिले कुनै लाद्ने काम गर्नुहुन्न,' देउवाको बचाउ गर्दै महतले भने।

प्रवक्ता महतले तरुण दलका अध्यक्ष र नेपाल विद्यार्थी संघमा अध्यक्षको मनोनयनसम्बन्धी विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताए। पार्टी सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार नै नेताहरुसँग आवश्यक सरसल्लाह र सुझाव लिएरै निर्णय गरेको उनको भनाई थियो। 'कार्यसम्पादन समितिले पार्टी सभापतिलाई अधिकार दिएको हो भ्रातृ संगठनको नेतृत्व तोक्न। त्यही अनुसार मिलाएर लानुहुन्छ,' प्रवक्ता महतले भने।

बुधबार तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघका अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेसँगै डा शेखर कोइराला समूहले संस्थापन पक्षको विरोध गर्दै आएको छ। देउवाले मनोमानी ढंगले निर्णय गरेको आरोप लगाउँदै शेखर समूहका विद्यार्थीले केन्द्रीय समितिअघि सानेपामा नाराबाजीसमेत गरेको थियो। यसबारे थप निर्णय लिन शेखर पक्षको तरुण र विद्यार्थी नेताहरु १४ गते अनुपम फूडल्यान्ड बानेश्वरमा जुट्दैछन्।

अर्को बैठक आइतबार

आजको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, ६ प्रदेश सभापति र गण्डकीका मुख्यमन्त्रीले धारणा राखेको कांग्रेसले जनाएको छ। बैठक आइतबार ११ बजे पुन बस्नेगरी स्थगित भएको छ। केन्द्रीय समितिमा महामन्त्री गगन थापाले एजेन्डा प्रस्तुत गरेका थिए।

बैठकका मुख्य एजेन्डा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठन, निर्वाचनमा चुनावी तालमेल र टिकट वितरणलगायत थिए। स्थानीय तह निर्वाचन तयारीका लागि फागुन २९ गतेबाट एक महिने अभियान सुरु गरेको हो।

बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना, शान्ति परियार र प्रदेश सभापतिहरु उद्धव थापा (प्रदेश नं. १), कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानियाँ (बागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) ले आ-आफ्नो धारणा व्यक्त गरेको कांग्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell