काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीचको शुक्रवारको खेल रोमाञ्चक रह्यो। भलै नेपालले खेल जित्न सकेन तर प्रदर्शन भने राम्रो प्रस्तुत गरेको थियो।
टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको शतकीय पारीको बावजुत २८६ रनमा समेटियो।
नेपाली टोलीका कप्तान सन्दीप लामिछाने दुबै टोलीको खेल राम्रो भए पनि पराजय ब्यहोर्नुपर्दा सबैकुरा फेरिएको बताउँछन्। बलिङमा ३०/४० रन बढी दिनु र ब्याटीङमा विकेट लगातार गइरहनुले टीमले पराजय ब्यहोर्नुपर्नेको कप्तान लामिछानेको बुझाइ छ।
'खेल एकदमै राम्रो थियो टिमको लागि एकदमै राम्रो क्रिकेट थियो दुबै टिमको। तर हारिसकेपछि केही राम्रो हुँदन,' उनले भने, 'बलिङमा ३०/४० रन बढी चाहीँ दिएको हो। आउटफिल्ड क्विक थियो। केही फरक थियो यूएईको भन्दा। बिहानको मैदान एक्सपेक्ट गरेको भन्दा अलि फरक नै थियो। पीएनजीको ब्याटरलाई पनि एप्रिसिएट गर्नै पर्छ, जसरी उनीहरुले खेल अघि बढाए। साझेदारी बनाए।'
यद्यपि यो खेलले केही सकारात्मक कुराहरु पनि दिएको उनी बताउँछन्।
'हाम्रो ब्याटिङमा महत्वपूर्ण विकेटहरु गइरहनुचाहिँ कमजोरी रह्यो। तर धेरै सकारात्मक कुराहरु छन् यो खेलका। आरिफ र रोहितको साझेदारी, रोहितको शतकीय पारी। यो गेम अझै चेजगर्न सक्थ्यौं जस्तो लाग्छ।' उनले भने।
नेपाली टोलीलाई ओमनमा विश्वकप छनोट ए मा सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका खेलाडी हुन् दीपेन्द्रसिंह ऐरी। तर, लगत्तै यूएईमा सम्पन्न विश्वकप लिग २ को सिरिजमा एकदिवसीय फर्म्याटमा भने उनी जम्न सकेनन्। त्यहाँका चारवटै खेलमा उल्लेखनीय ब्याटिङ गर्न नसकेका उनले कीर्तिपुरमा पनि ब्याटिङको जादु देखाउन सकेनन्। कतै बलिङले गर्दा ब्याटीङमा असर त परेको होइन भन्ने आशंकालाई सन्दीप स्वीकार्न तयार छैनन्।
'बलिङले उनको ब्याटिङमा असर परेजस्तो लाग्दैन। उनले यू १९ छँदा देखिनै पुरै बलिङ ब्याटिङ सम्हाल्दै आएका थिए। उनले बलिङमा पनि योगदान गर्नु टिमका लागि महत्वपूर्ण छ,' कप्तान लामिछानेले भने, 'उनी ब्याटिङमा उत्कृष्ट मध्येका एक हुन्। एकदुईवटा खेलमा रन बनिरहेको छैन, तर उनी पनि उत्कृष्ट ब्याटर हुन्।'
एकदिवसीय क्रिकेटमा कीर्तिमानी खेल रह्यो रोहित पौडेलको पीएनजीविरुद्ध। पहिलो त उनी पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानलाई पछि पार्दै एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बन्न सफल भए भने दोस्रो पारस खड्काको एकदिवसीय क्रिकेटमा बनाएको सर्वाधिक रनको कीर्तिमान तोडे। नेपालको धर्मराएको पारीलाई पनि आरिफ शेखसँग मिलेर सम्हाले। उनको पारी आफूले प्रत्यक्ष हेरेको पारी मध्येको उत्कृष्ट रहेको लामिछाने बताउँछन्।
'मैले देखेको उत्कृष्ट पारी मध्येको थियो। आफ्नै आँखाले देखेको उत्कृष्ट शतक थियो। जसरी उनले शतक बनाए यसले उनलाई भविष्यमा पनि कन्फिडेन्स मिल्नेछ,' लामिछानेले भने, 'जुन फर्ममा उनी छन् उनले शतक ल्याउन योग्य थिए। उनले त्यो दायित्व लिए।'
अन्तिम ओभरमा १० रन चाहिएकोमा तीन रनमात्र आउँदा नेपाल पराजित हुन पुगेको थियो। यसको कारण सन्दीप विकेटको महत्व बुझ्न नसक्नुलाई देख्छन्।
'अन्तिम ओभरमा हामी जित्न पर्थ्यो। जसरी सोमपाल र कमल क्रिजमा बसेर प्रेसर ह्याण्डल गरिरहनुभएको थियो, हामीले खेल जित्नुपर्थ्यो,' उनले भने, ' सुरुमा दुईतीनवटा विकेट लगातार खस्यो। साझेदारी बनेपछि पनि अवस्था त्यही रह्यो। हामीले त्यो विकेटको महत्व बुझ्नुपर्ने अत्यन्त जरुरी छ। अब अगाडी ब्याटरहरु जिम्मेवार हुन आवश्यक छ। विकेट छोटो अन्तरालमा गुम्दा पछि खेलमा जोखिम लिने अवस्था रहेन। जोखिम लिन विकेट बाँकी रहेन।'
नेपाल र पीएनजीले दोस्रो एकदिवसीय खेल आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा खेल्नेछन्।