PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

सल्यानको कुपिन्डे दह : बराहदेव र डुंगा सयरले तान्दै पर्यटक



पी बी खड्का

सल्यानको कुपिन्डे दह : बराहदेव र डुंगा सयरले तान्दै पर्यटक

सुर्खेत : सल्यानको कुपिण्डे दह (ताल) पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बनेको छ। जिल्लाको बनगाड नगरपालिकामा पर्ने यो दह सदरमुकाम खलंगादेखि करिब २४ किलोमिटर पश्चिममा पर्छ। ‘मिनि रारा’का नामले चिनिने दह क्षेत्र पहाडले घेरिएको छ।

यसैले पनि यहाँ पिकनिकका लागि ओइरिन्छन्। यतिमात्र हैन बराहदेवको दर्शन गर्न आउनेको घुँइचो उस्तै देखिन्छ। उत्तर–दक्षिणमा फैलिएको दहको क्षेत्रफल करिब दुई हजार आठ सय रहेको अनुमान छ।

समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाईमा रहेको दहको उत्तरदेखि पानी बगेर आउने ठाउँ भएपनि तालदेखि पानी बगेर जाने कतै ठाउँ छैन। जति ठुलो पानी परेपनि तालमै विलय हुने ढुंगा चालक अमृत कुँवर बताउँछन्।

उनका अनुसार दहले वर्षमा तीन रंग बदल्ने गर्छ। वर्षा, हिउँद र गर्मी मौसममा रंग बदल्ने गर्छ। वरीपरी पहाड र जंगल भएकाले पातपतिङगर खस्ने तर, आफै हराएर जाने उनले दाबी गरे। ‘वर्षमा तीन रंग बदल्छ’ उनले भने,‘वरीपरी जंगल छ, पातपतिंगर, फोहोर कता जान्छ, जान्छ अचम्म लाग्दो हुन्छ, पानी पुरै सफा हुन्छ।’

मन्दिरप्रतिको आस्था बढ्दो

दहको छेवैमा छ बराहदेवको मन्दिर। मन्दिरमा अधिकांश आफूले चाहेको वा मागेको पाइने विश्वासमा दर्शन गर्न आइपुग्छन्।

मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पुरा हुने आस्थाले गर्दा थप पर्यटकको आकर्षण बढेको छ। मन्दिरमा भेडा, कुखुरा र कुपिण्डोको बली चढाउने गर्छन्।

विशेषगरी पूर्णिमाको दिन, शनिवार, नयाँ वर्ष, दशैँतिहारको समयमा पर्यटकको लर्को लाग्ने पुजारी लाल कुँवर बताउँछन्। विगत तीन वर्षदेखि तिर्थालु र पर्यटकहरु बढ्दै गएको उनको भनाई छ।

मन्दिरप्रतिको विश्वास बढ्दै गएकाले पूर्णिमाका दिनहरुमा झण्डै तीन/चार सय सर्वसाधारणहरु पुजाआजा गर्न आउनेहरुको भिड हुने उनले बताए। अन्य दिनहरुमा भने खासै भिड नहुने उनको भनाई छ।

मन्दिरमा माघ शुक्लपूर्णिमा र बैशाख शुक्लपूर्णिमाका दिन मेला पनि लाग्छ। विशेषगरी लुम्बिनी र कर्णाली प्रदेशबाट सर्वसाारण मेला भर्न आउने पुजारी कुँवरको भनाई छ।

कसरी पुग्ने कुपिण्डे?

सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु–जाजरकोट सडक खण्ड हुदैँ यात्रा सुरु हुन्छ। त्यँहासम्म पुग्नका छिन्चुदेखि सार्वजनिक सवारी साधन भेट्न सकिन्छ।

छिन्चुदेखि यात्रा तय गरे भेरी नदीको तिरै तिर रमणिय दृश्यावलोकन हेर्दै जहरे, मेहलकुना, भोटेचौर हुदैँ करिव एक घण्टाको समयमा सुर्खेतको सिमा समाप्त हुन्छ। अनि सुरु हुन्छ सल्यान। करिव ३० मिनेटको समयमा सल्यानको बालुवासंग्राही पुग्न सकिन्छ। यस क्षेत्रमा कहि कतै कालोपत्रे उप्किएको खाल्डाखुल्डी बाहेक अरु सडक पिच नै छ।

बालुवासंग्राहीदेखि कुपिण्डे दह जाने सडक छुट्टिन्छ। खलंगा र दहसम्म जानेबाहेक बालुवासंग्राहीमा फेर्नुपर्छ सार्वजनिक सवारी। आफ्नै वा रिजर्भ गाडी भए दहको छेवैमा पुग्न सकिन्छ। बालुवासंग्राहीदेखि उत्तर पूर्वको सडकको यात्रा भने सकसपूर्ण हुन्छ। यही सडकबाट पुग्न सकिन्छ सल्यानको सदरमुकाम खलंगा पनि।

पहाडी सडक, त्यसैमाथि निर्माणाधिन कच्ची सडक। हिजोआज त धुलाम्मे हुदाँ मोटरसाइकलको यात्रा झनै सकसपूर्ण छ। करिव पौने घण्टाको उकालोओरालो कच्ची सडक छिचोलेपछि खलंगा जाने सडक छोडेर सडकको दाँयातर्फको कच्चि सडकतर्फ मोडिए दहतिर लागिन्छ। त्यसस्थानबाट पैदल हिडे करिव आधा घण्टा समय लाग्न सक्छ। यातायातको साधनमा भए करिव १५ मिनेटको यात्रा गरेपछि दह पुग्न सकिन्छ।

बराहदेवको दर्शन, दहमा डुंगाको शयर सकसपूर्ण यात्राको स्वादिलो बदला हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell