
काठमाडौं: कीर्तिपुरमा जारी नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको हो।
ओपनरद्वय कुशल भुर्तेल र अनिल साहलाई क्रमश शुन्य र १ रनमा गुमाएको नेपालको पारी दीपेन्द्रसिंह ऐरी र देव खनालले सम्हालेका थिए। ऐरीले शतकीय पारी खेल्दै १४० बलमा ७ चौकाको सहायतामा सर्वाधिक १०५ रन बनाउँदा खनालले ८६ बलमा ३ छक्का र ४ चौका बनाउँदै ७२ रन जोडे। त्यस्तै रोहित पौडेलले ३५ तथा भीम सार्कीले २६ रन बनाए। आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले ९ बलमा २ चौका र १ छक्काको सहायतामा २४ रन बनाए।
बलिङतर्फ पीएनजीका अलेइनाओले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भउनाले २ तथा छाड सोपर र चार्ल्स अमिनीले समान १ विकेट लिए।
पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।
शुक्रवारको खेलमा नेपालले ६ रनको पराजय ब्यहोरेको थियो। टस हारेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले कप्तान असद भाला र चार्लस अमिनीको अर्धशतकको सहायतामा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल रोहित पौडेलको शतकीय पारीको बावजुत २८६ रनमा समेटिएको थियो।