PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

रुपाकोट रिसोर्टका पुष्पराजको मेयर बनेर पोखरा सुधार्ने 'कर्पोरेट प्लान', के भन्न सक्लान् : पुष्पा नाम सुन के फूल समझे क्या? फायर है मैं

रुपाकोट रिसोर्टका पुष्पराजको मेयर बनेर पोखरा सुधार्ने 'कर्पोरेट प्लान', के भन्न सक्लान् : पुष्पा नाम सुन के फूल समझे क्या? फायर है मैं

वसन्तराज उप्रेती/पहिलोपोस्ट


काठमाडौं : लेखक गनेश पौडेलले स्वतन्त्र हैसियतमा पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेसँगै एउटा वृत्तमा चर्चा चुलियो। पर्यटकीय नगरी पोखराको मेयरमा उनको उम्मेदवारी घोषणा अप्रत्यासित थियो। धेरै नारा दिए पनि आफ्नो भवन समेत नठड्याउँदै महानगरको नेतृत्वले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्दैछ। त्यसैले त्यस्तो सम्भावित मेयरको खोजीमा छ पोखरा जसले पर्यटकीय नगरीको आकर्षण अझ चुल्यावस्। स्थानीय तहको निर्वाचनको मिति नजिकिँदा पोखराको त्यही राजनीतिक सरगर्मीमा सार्वजनिक भएको छ एक अर्को नाम - पुष्पराज अधिकारी।

पर्यटन व्यवसायी पुष्पराजको पहिचानमा जोडिएको ब्रान्ड धेरैले सुनेको हुनुपर्छ - रुपाकोट रिसोर्ट। दुई दशक विदेश बसाइ र त्यसपछि रुपाकोटमा भव्य रिसोर्टको सफलता। त्यसैका आड र अनुभवमा सिंगो पोखरालाई नेतृत्व दिने र नमुना शहर बनाउने मोह पलाएको छ उनमा। 

पुष्पराजलाई लाग्छ पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्दै व्यवसायिक विकासको नमुना बनाउन सक्ने भिजन उनीसँग छ। लामो समय बेल्जियममा व्यवसायिक जीवन बिताएर आफ्नै जन्मथलोमा उनले बनाएका हुन् रुपाकोट रिसोर्ट। 

'प्रकृतिले हामीलाई अनमोल उपहार दिएको छ। तर नेतृत्वमा रहेकाले यस्ता सम्भावनालाई सम्बोधन गरेका छैनन्,' पुष्पराज अधिकारीले भने, 'यही माहौल देखेर मलाई यो पदमा आउने हुटहुटी पैदा भएको हो। म अन्तिमसम्म प्रयास गर्नेछु।'

रातमा रुपाकोट रिसोर्ट।


व्यवसायी अधिकारी नेकपा एमाले निकट हुन्। त्यसो त पोखरा महानगरको अहिलेको नेतृत्व पनि नेकपा एमालेकै हो जुन 'असफल'मध्येको एक हो।

विकसित देशमा राम्रैसँग जमेको व्यवसाय थियो पुष्पराजको। फर्केर रुपाकोटकै डाँडामा आउनु र पाखा पखेरा खोस्रिएर यहाँ यति सुन्दर संरचना बनाएर उद्यम थाल्नु उनको अचानकको योजना थियो - मेयरमा उम्मेदवारी दिने अहिलेको निर्णयजस्तै। त्यही हुटहुटीले रुपाकोट रिसोर्ट बेगनाश तालमात्र होइन, सिंगो पोखराकै चर्चित गन्तव्य बनाउन सक्यो। 

बेल्जियमबाट फर्केर दुई वर्ष डाँडामा मजदुरझै खटिए उनी। कामदारसँगै गाँस साटे। टहरोमा बास साटे। 

'टहरामा मेरो सानो कोठा थियो। एकदिन यति धेरै पानी पर्योा कि ब्लकको गाह्रो चिरेर पानीको भल मेरो कोठा भित्रै पस्यो,' रुपाकोट रिसोर्ट बनाउँदाका सन्दर्भ उनले कोट्याए, 'झमझम् पानी परिरहेकै बेला निर्माण सामाग्रीको टिपर आइपुग्यो। म रुझ्दैरुझ्दै सामान झार्न गएँ। जतिसुकै दुःख होस् यहाँ वर्ल्ड क्लास प्रोपर्टी बनाउँछु भन्ने 'प्यासन' थियो। पूरा गरेरै छाडेँ।' 

अहिले त्यस्तैखाले 'प्यासन'ले उनलाई राजनीतितिर खिचेको छ। सिंगो पोखरामा नयाँ भिजन सहितको विकासमा भिजाउने उनको लक्ष्य।

डाँडो जहाँ बाटो त थिएन नै, पानी पनि थिएन। त्यही बनेको छ रुपाकोट रिसोर्ट


रुपाकोट रिसोर्ट अहिले हेर्दा जति भव्य छ, यसलाई बनाउँदाको संघर्ष उत्तिकै पेचिलो। रिसोर्ट बनाउँदा वनको मुद्दा लाग्यो। बैंकको चर्को ब्याज तिर्न नसक्दा आफ्नो घरै बेच्नु पर्योे उनले। पटकपटक अप्ठेरो सामना गर्दा उनी रोए पनि पटकपटक। तर, जतिपटक अप्ठेरोमा परे पनि 'बाउन्स ब्याक' हुने हिम्मत छोडेनन्। रुपाकोट रिसोर्टलाई नमुनाका रुपमा बनाइसकेर अहिले उनी थप दुईवटा नयाँ प्रोजेक्ट बनाइरहेका छन्, जसबाट थप एक हजारलाई रोजगारी दिने लक्ष्य राखेका छन्।

'बिजनेसम्यान भनेको व्यवसायी मात्र नभई योजनाकार पनि हो। व्यवसायीले योजना बनाउने मात्र होइन त्यसलाई सफल बनाउँछ कार्यान्वयनमा ल्याउँछ,' पुष्पराजले सुनाए। पोखरालाई पूर्ण शहर बनाउनका लागि उनले रुपाकोटको जस्तै आर्किटेक्चर पोखराका लागि पनि तयार पारेको सुनाए। अहिले त उनलाई पोखरा सुन्दर भए पनि अब्यवस्थित र 'बिग मेस' जस्तो लाग्छ। नलागोस् पनि कसरी? शहरका चोक चोकमा फोहर थुप्रिन थालेको देखेका जो छन्। फोहोर कता फाल्ने? घरको मापदण्ड कस्तो बनाउने? हरियाली कसरी कायम गर्ने? नेतृत्वसँग प्रश्न र जवाफ नरहेको उनले बुझेका छन्। 

उनको बुझाईमा पोखरा सुधार्न सबैभन्दा पहिले फोहोर व्यस्थापन नै गर्नुपर्छ। सार्वजनिक ठाउँलाई खुला गर्नैपर्छ। आर्थिक सुधारको पाटो खुल्दै जान प्राथमिकता यिनै दुई क्षेत्रलाई दिनुपर्ने उनको भनाई छ। स्थानीयसँग समन्वय गरेर अघि बढ्दा सही नतिजा आउनेमा विश्वस्त सुनिन्छन् पनि।
उनले पोखरालाई कस्तो बनाउन सकिन्छ भनेर भिडियो नै तयार पारेका छन्।

पुष्पराज अधिकारी।


अलगै सपिङ स्ट्रिट, अलगै सरकारी कार्यालयको अत्यावश्यक देख्छन् उनी। उनको योजना 'भयानक' छ। भयानक यसर्थ कि योजना ३० वर्षको छ। र, त्यसलाई पूरा गर्न अहिलेको ८० प्रतिशत संरचना भत्काउनुपर्छ। थपिँदो जनसंख्या र अस्तव्यस्त हिसाबले बन्न थालेका घरले पोखराको स्वरुप विग्रेको ठम्याएका छन्। तर, के उनको त्यस्तो योजनालाई पोखरेलीले साथ दिन्छन्? त्यसअघि उनी निकट दलले साथ दिन्छ? 

'हुन त यो त कल्पनासँगै सपनाको कुरा भयो। हामीले विकास निर्माणको भिजन बनाउँदा ठूला कुराको कल्पना गर्नै नहुने त होइन नि!,' ठूलो योजनाको कल्पनामा रहेका उनी सम्हालिँदै सुनाउँछन्, 'तर सपना देख्ने  गट्स पनि नभएका मान्छे छन् यहाँ।'

आत्मविश्वास उनमा यति छ कि पोखरालाई जेनेभाको ज्यूरिच जस्तै बनाउन सक्ने दाबी गर्छन्।

'दुबईमा समुद्रको पानीबाट नुन निकालेर डिसालिनेट गरेर पिउन योग्य बनाइएको छ। हामीलाई त प्राकृतिक रुपमै आरामदायी वातावरण मिलेको छ। हावापानी मिलेको छ। यसलाई व्यवस्थित बनाउन मात्र बाँकी हो,' आफ्नो योजनामा उनी स्वभाविक सुनिए। तर, थाहा छ उनलाई राजनीति हुनसक्छ एउटा 'डर्टी गेम'।

चुनावमा उठ्ने भन्नासाथ उनीसामु आइलाग्नेछन् अनेक आरोप र लाञ्छना। ती सबैलाई सहन मानसिक रुपमै तयार रहेको दावी गर्छन् उनी। 'मैले गरेको संघर्ष थाहा नपाउनेले विदेशबाट कालो पैसा ल्यायो भन्लान्। चोरेर भागेर आयो भन्लान्। तर म पोखराको विकासका लागि सबै दोष सहन र सुन्न तयार छु,' उनी प्रष्ट सुनिए। 

रुपाकोट रिसोर्टको ड्रोनबाट खिचिएको दृश्य।


रुपाकोटकै गाउँमा घाँस काट्दै चप्पल पड्काएर स्कुल गएको बाल्यकाल पनि उनीसामु छ - विशाली विदेशकी जीवनमात्र होइन। 'बटमको लाइफ' भोगेर लग्जरी लाइफमा उक्लिएका पुष्पराज कम लागतमा सुविधा दिनसक्ने पूर्वाधार बनाउन सकिनेमा विश्वस्त छन्।

'पृथ्वी चोकको प्राइम ठाउँमा आठ आना जग्गामा सुकुम्बासीको टहरा हालिएको छ। म ती सुकुम्बासीको भर्सन नै चेन्ज गर्न चाहन्छु,' कर्पोरेट पारामा उनले सुनाए, 'उनीहरुलाई अपार्टमेन्ट बनाएर सार्ने र राम्रो आय गर्न सक्ने अवस्थामा पुर्यालउने भिजन मसँग छ।'

बसिरहेका मानिसका घरभन्दा ठूला अपार्टमेन्टमा सारेर नमुना बस्ती बनाउन सक्ने सपना देखेका छन् उनले। हरेक वडा वडामा यस्ता अपार्टमेन्टको खाका बनाउनुपर्ने उनको बुझाई छ। 'सेती नदी त पुरै खाली छ। नदीलाई ३० मिटर बिस्तार गर्दा मेट्रोदेखि रेल संचालन गर्न सकिन्छ,' उनले सुनाए।

त्यसो त रुपाकोट रिसोर्ट बनाउने बेलामा पनि उनले रिस्क लिएरै हुन्। यातायात त टाढा पानी समेत अभाव हुने डाँडामा उनले त्यति ठूलो संरचना तयार पारेका हुन्। तर आज डेढ घण्टा लाग्ने बाटो १० मिनेटमै छिचोल्न सकिने भएको छ।

रुपाकोटबाट देखिने ताल।


उनी रुपाकोट रिसोर्टमा अमेरिकी राष्ट्रपतिलाई दिइने सरह सेवा दिने क्षमता विकास गरेको दाबी गर्न पछि पर्दैनन्। उनले आफ्नो रिसोर्टको प्राकृतिक वातावरणसँग विदेशी संरचनाले पनि प्रतिस्पर्धा गर्न नसक्ने सुनाउँछन्। 

मेयर बनेको खण्डमा पोखरामा दैनिक २० हजार पर्यटक तान्ने खाका तयार छ उनको। आउँदो १० वर्षमा स्किम बनाएर १० हजार अपार्टमेन्ट बिक्री गरेर खर्बौ रुपैयाँ पोखरा भित्र्याउने अर्को व्यवसायिक प्लान पनि छ। 

'हामीले विकास गर्नका लागि वैदेशिक लगानी नै आवश्यक छ। बाहिरको लगानी ल्याउनका लागि योजना बनाउन जति ढिला गर्योज त्यति नै घात हुन्छ,' उनले सुनाए, 'पहिलापहिला बाहिरको पुँजी नेपाल ल्याउन भनेको देशद्रोही भन्थे। तर लगानीकर्ताले निश्चित मुलुकको ऐन नियम पूरा गरेर लगानी गर्न आउने हो। संसारभरी यही चलिरहेको छ। कम मान्छेमा मात्र यो बुझाइ छ।'

उनीलाई लाग्छ - मेगा प्रोजेक्ट ल्याउन सक्ने खुबी छ उनमा। 'म एफडीआई पिच गरेर मेगा प्रोजेक्ट ल्याउन सक्छु। ग्लोबल ट्रेण्डअनुसार ५ प्रतिशत मान्छेले ९५ प्रतिशत मान्छे पाल्छ। उद्यमी भनेको ५ प्रतिशत मात्र हो,' राजनीतिक दलका कार्यकर्ताभन्दा उनी बढी नै कर्पोरेट सुनिए।

उनले लेक सिटीको ड्रिम प्रोजेक्ट नै तयार पारेका छन्। बुर्ज खलिफा बनाउने कम्पनीलाई उक्त कन्सेप्ट देखाइसकेको पनि दाबी गरे पुष्पराजले। निर्माण सामाग्री सहजीकरण गरिदिने हो अहिले पनि बेगनास र रुपातालको किनारमा अपार्टमेन्ट विस्तार गर्न सकिने उनको बुझाई छ।

'हामीलाई सधैं इम्पोसिबल भनेर मात्र पढाइएको छ। यो मुलुकको विकास हुनका लागि हामी जस्तै मान्छेले पोलिटिकल्ली इन्टरफेयर गर्नुपर्छ,' राजनीतिमा इन्ट्रीको सन्दर्भ कोट्याए उनले, 'विदेशी मजदुर ल्याएर यहाँको काम गराउनुपर्छ। अहिले भन्यो भने गफ लगायो भन्लान्। यतिबेला अरुको नजरमा एउटा गफ लगाउने मान्छे थपिएको न हो। तर यथार्थ के हो म आफ्नो भिजनरी अनुसार अघि बढेर देखाउँछु।'

त्यसो त आफ्नो व्यवसायमा जसरी सफलता हासिल गर्न सकिन्छ त्यस्तो सहज बाटो हुँदैन राजनीतिको। पार्टी, तिनका कार्यकर्ता, विपक्षी र महानगरका जनता सबैको मन जित्‍नु नै पुष्पराजका लागि पहिलो शर्त हो - सपना साकारका लागि। 

केही अघि रिलिज भएको दक्षिण भारतीय फिल्म पुष्पाको एउटा डायलग उनका सन्दर्भमा लिन चाहिँ सकिन्छ पुष्पराजका लागि। फिल्ममा अल्लु अर्जुन भन्छन् - 'पुष्पा नाम सुन के फूल समझे क्या? फायर है मैं.'

फिल्मको डायलगसँग नाम मिले पनि पोखरा महानगरको राजनीतिमा कत्तिको आगो लगाउन सक्छन् पुष्पराजले? त्यो चाहिँ हेर्न बाँकी नै छ।



ट्रेन्डिङ पोस्ट

Ncell