- फूलमान तामाङ -
इन्द्रावती : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा निर्माण गरिएको भूकम्प स्मारक पार्क र भृकुटी पार्कको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले उद्घाटन गरेका छन्।
उद्घाटनपछि अध्यक्ष तामाङले इतिहासलाई जीवन्त राख्न भृकुटी र भूकम्प स्मारक पार्क निर्माण गरिएको बताए।
तामाङले यसको संरक्षण गर्न सबै लागि पर्नुपर्ने धारणा राखे। अध्यक्ष तामाङ गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव समेत हुन्।
२०७२ साल वैशाख १२ गते शनिवारका दिन गएको भूकम्पमा परी इन्द्रावती गाउँपालिकाभित्र ज्यान गुमाउनेहरुको सम्झनामा भूकम्प स्मारक पार्क निर्माण गरिएको अध्यक्ष तामाङले जानकारी दिए। उक्त भूकम्पमा परी इन्द्रावती गाउँपालिकाका ५ सय ४८ जनाको मृत्यु भएको थियो। मृत्यु भएकाहरुको सम्झनामा यहाँ पूजापाठ गर्न सकिनेछ। गाउँपालिका छेवैमा भएको भृकुटीको मूर्ति पनि अध्यक्ष तामाङले अनावरण गरेका छन्।
नेपाल र तिब्बत द्वौत्य सम्बन्ध जोड्ने ऐतिहासिक व्यक्तित्व भृकुटीको सम्झनामा उक्त पार्क निर्माण गरिएको हो।
राजकुमारी भृकुटी, नेपालका लिच्छवी राजा अंशुवर्माकी (शिवदेवपछि का राजा) छोरी हुन्। उनी तिब्बतमा 'बाल - मो -ब्ज'को रूपमा जानिन्छिन्। चिनिया शासक श्रङ चङ गम्पोकी पहिलो पत्नीका रूपमा उनलाई चिनिन्छ। भृकुटी नेपालकी राष्ट्रिय विभूति पनि हुन्। उनीलाई 'बेसा'को नामले पनि चिनिने गरिएको छ। अंशुवर्माले तिब्बतसँग दरिलो सम्बन्ध बनाउन भृकुटीको विवाह चीनका शासकसँग गरेको इतिहास छ।
भृकुटी चीन जाँदा इन्द्रावती नदी तरेर थाकन ह्युल्सान अर्थात् अहिलेको नवलपुरको बाटो हुँदै गएको सम्झनामा भृकुटी पार्क निर्माण गरिएको हो।
गाउँपालिका र पर्यटन मन्त्रालयको समन्वयमा १ करोड ३१ लाख १८ हजार ४ सय ३३ रुपियाँ लागतमा भूकम्प पार्क र भृकुटी पार्क निर्माण भएको हो।