
काठमाडौं: कीर्तिपुरमा सम्पन्न नेपाल र पपुवान्युगिनीबीचको सिरिजको दोस्रो र अन्तिम खेलमा पनि नेपाल पपुवान्युगिनीसँग पराजित भएको छ। लगातार दुई जित निकाल्दै सिरिजमा क्लिनस्वीप गरेको पीएनजीले पहिलो खेलमा ६ रनले र आज सम्पन्न दोस्रो खेलमा ३ विकेटले जित निकाल्यो।
आजको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले पीएनजीलाई २ सय ७९ रनको लक्ष्य दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
ओपनरद्वय कुशल भुर्तेल र अनिल साहलाई क्रमश शुन्य र १ रनमा गुमाएको नेपालको पारी दीपेन्द्रसिंह ऐरी र देव खनालले सम्हालेका थिए। ऐरीले शतकीय पारी खेल्दै १४० बलमा ७ चौकाको सहायतामा सर्वाधिक १०५ रन बनाउँदा खनालले ८६ बलमा ३ छक्का र ४ चौका बनाउँदै ७२ रन जोडे। त्यस्तै रोहित पौडेलले ३५ तथा भीम सार्कीले २६ रन बनाए। आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले ९ बलमा २ चौका र १ छक्काको सहायतामा २४ रन बनाए।
बलिङतर्फ पीएनजीका अलेइनाओले सर्वाधिक ३ विकेट लिँदा नोर्मन भउनाले २ तथा छाड सोपर र चार्ल्स अमिनीले समान १ विकेट लिए।
जवाफी ब्याटीङमा उत्रिएको पीएनजी सुरुबाटै आक्रमक खेल्यो। पीएनजीका लागि ओपनर लेगा सिएकाले १०२ बलमा १ छक्का र १२ चौकाको सहायतामा सर्वाधिक ९० रन बनाए। त्यस्तै सेसे बाउले ३८ रन बनाउँदा चार्ल्स अमिनीले ३५ तथा हिरीहिरीले १३ रन बनाए। त्यस्तै रिले हेकुरेले अविजित ४८ रन बनाउँदा चाड सोपर १६ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा पवन सर्राफले २ तथा आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए।
योसँगै नेपाल र पीएनजीबीचको एकदिवसीय सिरिज सकिएको छ भने अब नेपाल, पीएनजी र मलेसियाबीच त्रिदेशीय टी २० सुरु हुनेछ।