PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बोइङ ७५७ र एअरबस ३२० उड्न/उत्रिन सक्ने पोखराको विमानस्थल केही बेरमा नेपाललाई हस्तान्तरण हुँदै



रासस

बोइङ ७५७ र एअरबस ३२० उड्न/उत्रिन सक्ने पोखराको विमानस्थल केही बेरमा नेपाललाई हस्तान्तरण हुँदै

केही बेरमा चीनद्वारा हस्तान्तरण हुँदै पोखरा विमानस्थाल

पोखरा : चीन सरकारको ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ। चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री वाङ यी हाल नेपाल भ्रमणमा छन्। उनको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

यस हस्तान्तरण समारोह भर्चुअल विधिबाट हुँदैछ भने सो प्रयोजनका लागि आवश्यक व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पोखरा आएका छन्।

विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट प्रधानमन्त्री देउवालाई हस्तान्तरण हुनेछ भने त्यसलगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई मन्त्री आलेले कदरपत्र प्रदान गर्ने कार्यक्रम तय भएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ। उनका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ। विमानस्थलको रन वे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

गएको जुलाई १० मै निर्माण सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो। उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ। यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell