
बुटवल : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई पराजित गर्ने बताएका छन्।
शनिवार नेकपा एकीकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको टिप्पणी गरे।
नेपालले कहिल्यै, कसैले पराजित गर्न नसक्ने घमन्ड बोकेको ओली र ओली प्रवृत्ति अदालत, संसद् र प्रदेशबाट अन्त्य हुँदै आएको भन्दै उनले अब तीनै तहका चुनावको माध्यमबाट नामेट बनाउनुपर्नेमा जोड दिए। एमालेमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरु मात्र रहेको उनले आरोप लगाए।
नेता नेपालले गुल्मी जिल्लास्तरीय सत्ता गठबन्धका नेतासँग पनि आफ्नो छलफल भएकाले मिलेर एमाले र केपी प्रवृत्तिका विरुद्ध लड्न सबै कार्यकर्तालाई निर्देशन दिए।
त्यस्तै, शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रामकुमारी झाक्रीले स्थानीयस्तरमा सवै वडा, पालिका र क्षेत्र तथा वर्गीय संगठनका कमिटी बिस्तार गर्न जिल्ला कमिटीलाई निर्देशन दिइन्।
उनले भाषणभन्दा काम र जनाधारमा पार्टी बलियो बन्ने भएकाले निर्वाचनको सामना गर्न कमिटी आवश्यक पर्ने भएकाले एकजुट भएर संगठन निर्माणमा लाग्न आग्रह गरिन्। उनले पार्टीमा नयाँ रक्त संचारको उद्घोष गर्न पार्टी अध्यक्ष जिल्ला आएको बताउँदै अब सत्ता गठबन्धनबाट पनि संयुक्त चुनावी मोर्चा र सभाहरु हुने बताइन्।
चुनावी गठबन्धनको अधिकार जिल्लाको निर्देशनमा पालिकाहरुमा हुने र केन्द्रले समन्वय तथा सैद्धान्तिक विषयमा सहजीकरण मात्रै गर्ने झाँक्रीले बताइन्। उनले जिल्लाको विकास निर्माणको विषयमा बोल्दै सीमित श्रोत साधनबाट असीमित आशा पूरा गर्न निकै कठिन भएकाले सडक, सभाहल, सुरक्षित आवास लगायतका क्षेत्रमा काम गरिरहेको बताइन्।