
काठमाडौँः नेपाल र चीनबीच विदेश मन्त्रीस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा परराष्ट्र मन्त्रालयमा भएको द्विपक्षीय वार्तापछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।
दुई देशबीचको वार्तापछि आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ स्वास्थ्यकर्मीको सेवा प्रवाह, अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययनलगायतका समझदारीपत्रमा हस्ताक्षर भएको हो। त्यस्तै काठमाडौं-केरुङ रेलमार्गको अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।
द्विपक्षीय वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहितको २५ सदस्यीय टोली सहभागी थियो।
त्यस्तै चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिवसहितको टोली सहभागी थियो।
छलफलपछि विदेशमन्त्री वाङ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्न बालुवाटार निस्किएका छन्। बालुवाटारमा पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। विमानस्थल चीनको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो।