PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सकियो नेपालभाषा साहित्य नख:, कीर्तिपुरको मार्केटिङ र ब्रान्डिङमा जोड



पहिलोपोस्ट

सकियो नेपालभाषा साहित्य नख:, कीर्तिपुरको मार्केटिङ र ब्रान्डिङमा जोड

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: सम्पन्न भएको छ। कीर्तिपुरमा आयोजना भएको दुई दिने महोत्सव शनिवार सम्पन्न भएको हो। 

पहिलो दिनको कार्यक्रम अन्तर्गत शुक्रवार ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग अन्तर्क्रिया भएको थियो। कीपू लायकूमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरिएको थियो भने नेपालभाषा एकाडेमीमा पाँचवटा पुस्तक विमोचन गरिएको थियो।

दोस्रो दिनको कार्यक्रममा कीर्तिपुरको संस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाबारे छलफल भएको थियो। नख: अन्तर्गत शनिवार पांगा लाछिमा भएको अन्तर्क्रियामा वक्ताहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा आउने पर्यटकलाई कीर्तिपुर तान्न नसकिएको भन्दै कीर्तिपुरलाई पर्यटकीय क्षेत्र बनाउन ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताएका थिए।

अन्तर्क्रियामा नेवा: लहनाका अध्यक्ष राजमान 'मानव' ले कीर्तिपुरमा पर्यटकको संख्या बढ्दै गइरहेको बताए। तर, उपयुक्त 'मार्केटिङ' नहुँदा उपत्यका आउने पर्यटकलाई कीर्तिपुर तान्न नसकिएको उनले बताए। उनले हाल कीर्तिपुर नेवार परिकारसहितका रेष्टुराँहरुको हब बन्दै गइरहेको भन्दै परिकारहरुको पनि 'ब्रान्डिङ' गर्नुपर्नेमा जोड दिए। यस्तै, कीर्तिपुर नगरपालकाि वडा २ का अध्यक्ष रमेशमान डंगोलले नगरपालिकाले पर्यटक भित्राउन योजनाहरु बनाइरहेको बताए। पर्यटकहरुलाई आकर्षित गर्न सम्पदा क्षेत्रसँगै एड्भेन्चर टुरियजम विकास गर्न पनि नगरपालिका लागिरहेको उनले बताए।

वरिष्ठ संस्कृतिविद् प्रयागमान प्रधानले भने केही मन्दिरमात्रै सम्पदा नभएको भन्दै समग्र कीर्तिपुरमा रहेका सम्पदाहरुको संरक्षण गरेर प्रचार गरे पर्यटन क्षेत्रलाई टेवा पुग्ने बताए। हाल कीर्तिपुरको केही क्षेत्रमा सीमित पर्यटकीय गतिविधि त्यसपछि बढ्ने उनको धारणा थियो। 

शनिवार नख: मा विद्यालय तहमा स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरिएको काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख र कीर्तिपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलाई सम्मान गरिएको थियो। जनकवि दुर्गालाल श्रेष्ठ, नेपालभाषा एकाडेमीका भाइस च्यान्सलर मल्ल के सुन्दर र नेपालभाषा टाइम्सका प्रकाशक रमेश स्थापितले विद्यालय तहमा नेपालभाषामा पाठ्यक्रमको व्यवस्था गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्का रिजाललाई सम्मानित गरेका थिए।

यस्तै, साहित्यिक कार्यक्रम अन्तर्गत मथुरा सायमि, दर्शनविर शाक्य, रोनिका श्रेष्ठ, पालिजा मानन्धर खड्गी लगायतले कविता, कथा र साहित्यिक रचना प्रस्तुत गरेका थिए। साँझ भने विभिन्न गीत र नाटक प्रस्तुत गरिएको थियो। साथै नेपालभाषा पठनपाठनले साहित्यलाई कसरी टेवा दिन्छ भन्ने विषयमा पनि अन्तर्क्रिया भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell