PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

सिमरा गोल्डकपः विजय युथलाई हराउँदै एनआरटी सेमिफाइनलमा, मेसुकेको दोहोरो गोल



पहिलोपोस्ट

सिमरा गोल्डकपः विजय युथलाई हराउँदै एनआरटी सेमिफाइनलमा, मेसुकेको दोहोरो गोल

वीरगंज: विजय युथ क्लब हेटौँडालाई हराउँदै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा शनिवार साँझ भएको खेलमा एनआरटीले विजय युथमाथी ३–१ को जित निकालेको हो।

एनआरटीको जितमा मेसुके अलोमोउले दुई र स्टेफेन बिनोङ समिरले एक गोल गरे। हेटौडाका लागि विमल राना मगरले गोल फर्काए। निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा एनआरटीले दुई गोल थप्दै फराकिलो जित हात पारेको हो। खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हेटौडा प्रतियोगिताबाट बाहिरिन पुगेको छ।

खेलको १८औं मिनेटमा अमिर श्रेष्ठको पासमा बिमल राना मगरले हेडमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा एनआरटीले बराबरी गोल फर्कायो। विशाल तामाङको क्रसलाई सदुपयोग गर्दै मेसुकेले खेल १–१ को स्थितीमा पुर्‍याएका थिए।

करिब चार हजार दर्शकको उपस्थिती रहेको रंगशालामा दुबै टिमले उत्कृष्ट खेल पस्किए। निकै प्रतिस्पर्धात्मक बनेको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको पहिलो मिनेटमै एनआरटीले खेलमा अग्रता लियो। एनआरटीका मेसुकेले ब्यक्तिगत दोस्रो गोल गर्दै खेल २–१ को स्थितीमा पुर्‍याए। अतिरिक्त समयको २५ औं मिनेटमा वन भर्सेस वनको अवसर पाएका स्टेफेन समिरले गोल गर्दै एनआरटीको जितलाई सहज बनाएका थिए।

एनआरटीको जितमा दोहोरो गोल गरेका मेसुके खेलको म्यान अफ दि म्याच घोषित भए। उनले नगद पाँच हजार प्राप्त गरे। प्रतियोगिता अन्तर्गत आईतवारको खेल हिमालयन शेर्पा क्लब सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ। प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell